भवन निर्माणका लागि आर्थिक संकलन गर्दै नीलसागर
Monday, April 4th, 2022, 1:40 pm
Kalpristha
सडकमुक्त मानव बनाउने अभियानमा वृद्ध–वृद्धा, अनाथ बालबालिका, अपांग तथा असायको घर बन्दै आएको नीलसागर सेवाश्रम विगत तीन वर्षदेखि आफ्नै भवन बनाउन जुटि रहेको छ । केन्द्रीय कार्यालय नेपालगन्जमा रहेको नीलसागरले निर्माण गर्न लागको कैलश भवनको काम तीन वर्षमा ४० प्रतिशतमात्र पूरा हुन सकेको छ । तर विडम्बना आर्थिक अभावका कारण भवन निर्माणको काम हाल स्थिगित जस्तै बनेको छ ।
एक वर्ष अगाडि कालपृष्ठ कर्मीले उक्त निर्माणाधीन भवनको रिपोर्टिङ गर्ने क्रममा उक्त भवनको जग हालिएको थियो भने वरिपरी केही मात्रामा वालहरु लगाइएको थियो । र एक वर्षपछि उक्त भवनको एकभाग ढलानमात्र हुन सकेको छ ।
पाँच करोड लागत लाग्ने उक्त भवनका लागि हालसम्म ४० लाख खर्च भई सकेको नीलसागरी सरिता नीलसागरले बताइन् । उक्त योजनामा हालसम्म प्रदेश सरकारले मात्र सहयोग गरेको छ ।
यसरी अपुरो भवनलाई पूरा गर्न नीलसागरले नेपालगन्जमा धार्मिक महामहोत्सव आयोजना गर्ने भएको छ । आगामी चैत २७ गतेदेखि वैशाख ४ गतेसम्म धार्मिक महोत्सव अयोजना गर्न नीलसागरले तयारी गरिहेको छ ।

.
नीलसागरले गत शुक्रबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरे निमार्णाधीन कैलाश भवनका लागि महामहोत्सव आयोजना गर्न लागिएको बताएको थियो ।
सरिता नीलसागर नेपालगन्जस्थित बाँके गाउँमा रहेको रामलिला मैदानमा महोत्सवको आयोजना गरिने बताउँछिन् । महोत्सवबाट रकम संकलन गरी भवन निर्माण गर्ने उद्देश्य रहेको सरिताले बताइन् । उनी महोत्सवमा दान दिनमात्रै नभएर कथा प्रवचन सुनिदिन भए पनि सबैलाई उपस्थित भई दिन आग्रह गर्छिन् ।
नीलसागरले महोत्सव अवधिको प्रत्येक दिन ७ बजेदेखि पूजापाठ, यज्ञ प्रारम्भ गर्नेछ । त्यस्तै महोत्सवमा प्रत्येक दिन बिहान १० बजेदेखि राष्ट्रिय कलाकारबाट संगितमय कथा प्रवचन तथा विशेष झाँकी र प्रत्येक दिन रात्री ७ बजेदेखि १० बजेसम्म कलाकारद्वारा किर्तन, भजन कथा वाचन, झाँकी प्रस्तुत गरिने छ ।
नीलसागर नेपालगन्जले हाल ५० हजार भाडा तिरेर सय बढी आमा बुवाहरुको हेरचाह गरिरहेको छ । तर हालको भाडाको भवन वृद्ध वृद्धाका लागि उपयुक्त नभएले आफ्नै भवन बनाउन नीलसागरले पहल सुरु गरेको थियो ।