नेपालले जित्यो क्रिकेट सिरिजको उपाधि
Monday, April 4th, 2022, 9:08 pm
Kalpristha
घरेलु टोली नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ ।त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले सिरिजको उपाधि जितेको हो ।
यससँगै सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलोपटक सिरिजको उपाधि जितेको छ । नेपाल अपराजित रहँदै सिरिजको उपाधि जितेको हो ।
नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो ।
पीएनजीका सेसे बाउले ५९ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । उनले ३८ बलमा १ चौका र ६ छक्का प्रहार गर्दा करण केसीको बलमा अविनास बोहराले क्याच गरे ।
नेपालको जितमा दिपेन्द्र सिंह ऐरी नायक बने । उनले ब्याटिङमा अर्धशतक बनाउँदा बलिङमा समेत उत्कृष्ट प्रदर्शन गरे ।
दिपेन्द्र सिंह ऐरीले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा अविजित ५ चौका प्रहार गर्दा टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी बने ।
आक्रामक ब्याटिङ गरेका करण केसीले अविजित रहँदै ३३ रन बनाए । उनले १२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै नेपाललाई बलियो स्कोर खडा गर्न मद्दत गरे ।
दिपेन्द्र र करणले अन्तिम २४ बलमा ५४ रन जोड्दै नेपाललाई राम्रो स्कोरमा पुर्याएका हुन् ।
यस्तै ओपनर कुशल भुर्तेल र आसिफ शेखले २५ र २९ रनको योगदान गरे । कुशलले २२ बलमा ५ चौका प्रहार गर्दा आसिफले २९ बलमा १ छक्का प्रहार गरे ।
आदील आलमले १३ बलमा १ चौका र १ छक्का प्रहार गर्दा १५ रन बनाएर आउट भए ।
पीएनजीविरुद्धको जितसँगै नेपालले टी–ट्वान्टी अन्तराष्ट्रियमा लगातार छैटौं खेल जित्न सफल भएको छ ।
गत महिना ओमानमा भएको टी–ट्वान्टी विश्वकप छनोटको अन्तिम खेलमा जित निकालेपछि नेपालले हार व्यहोरेको छैन।