टाइफाइडविरुद्ध अभियान संचालन गरिने
Monday, April 4th, 2022, 9:09 pm
Kalpristha
स्वास्थ्य कार्यालय बाँकेले टाइफाइड रोगविरुद्ध खोप अभियान संचालन गर्ने भएको छ । टाइफाइड रोगविरुद्ध बाँकेसहित देशभर एकैसाथ खोप अभियान संचालन गरिन लागेको हो ।
सोमबार नेपालगन्जमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा खोप अभियानका बारेमा जानकारी गराइएको हो । कार्यक्रममा जिल्ला खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीबीच अभिमुखिकरण भएको थियो ।
यही चैत २३ गतेदेखि २८ गतेसम्म अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहाले बताए । उक्त खोप १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दिइने उनले जानकारी दिए ।
खोप अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मी विद्यालयमै पुग्ने भएका छन् । विद्यालयमा ८० प्रतिशत र स्वास्थ्य संस्थामा २० प्रतिशत खोप केन्द्र सञ्चालन हुने स्वास्थ्य कार्यालयका नरेश श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार जिल्लाका १५ महिनादेखि १५ वर्ष सम्मका १ लाख ४८ हजार ९ सय ३३ जना बालबालिकालाई खोप लगाइनेछ । यसका लागि जिल्लाभर २ सय ६४ खोप केन्द्र राखिने भएको छ ।
कोभिड, हेपाटाइटिस लगायत अन्य खोप लगाएको १४ दिनपछि मात्र टाइफाइड रोगविरुद्धको खोप लगाउन मिल्ने श्रेष्ठले प्रष्ट्याए । उनले ज्वरो आएको र टाइफाइडको लक्षण देखिएको समयमा यो खोप लगाउन नमिल्ने श्रेष्ठले बताए ।