गठबन्धनले नेतृत्व चयन गर्न सकस
Tuesday, April 5th, 2022, 12:00 pm
Kalpristha
प्राय सबै पार्टीले वडा कमिटीहरु विस्तार गर्ने, कार्यालय खोल्ने, पार्टीका भातृ संगठन, शुभेच्छुक संगठन विस्तार र पुर्नगठन गर्ने काम गरिरहेका छन । वडा स्तरमा कार्यकर्तालाई चुनावले व्यस्त बनाएको छ । तर शिर्ष पदको नेतृत्व छनोटमा भने प्राय सबै पार्टीमा अन्योलता छ ।
कमल खत्री
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तिव्र गतिमा अगाडी बढेको छ । निर्वाचन नजिकिदै गर्दास्थानीय स्तरमा निर्वाचन केन्द्रित गतिविधि ह्वातै बढेका छन् । सबै पार्टीहरु अहिले वडा स्तरको संगठन निर्माण गर्दै आफना संगठनलाई सक्रिय बनाइरहेका छन । वडा स्तरमा उमेदवार बन्ने नेताले पार्टीमा आफनो दाबी पेस गर्दैछन् ।
प्राय सबै पार्टीले वडा कमिटीहरु विस्तार गर्ने, कार्यालय खोल्ने, पार्टीका भातृ संगठन, शुभेच्छुक संगठन विस्तार र पुर्नगठन गर्ने काम गरिरहेका छन । वडा स्तरमा कार्यकर्तालाई चुनावले व्यस्त बनाएको छ । तर शिर्ष पदको नेतृत्व छनोटमा भने प्राय सबै पार्टीमा अन्योलता छ । गठबन्धनका कारण खुलेर कसैले पनि आफनो उमेदवारी दाबी गर्न सकिरहेका छैन । गठबन्धनको पर्खाइमा छन स्थानीय नेता तथा कार्यकर्ता ।
गठबन्धनको बारेमा निर्णय नहुँदा शिर्ष पार्टीहरुलाई शिर्ष पदको उमेदवार छनोटमा सकस देखिएको छ । प्राय सबै पार्टीले वडा स्तरको उमेदवारी छनोट गरिसकेपछि शिर्ष पदका लागि गठबन्धनको जोर घटाउमा लाग्ने संकेत गरेका छन । तर खुलेर भने कुनै पनि शिर्ष राजनिति दलका नेताले आफनो उमेदवारी प्रस्तुत गर्न सकेका छैनन । उमेदवारी दाबी गरे पनि गठबन्धन हुँदा समिकरण फरक पर्न जान्छ । त्यस्तो अवस्थामा आफनो दाबी कमजोर हुने भएकोले खुलेर उमेदवारी घोषणा गर्न नसकेको बताउँछन एक नेता ।
नेपालगन्ज उप–महानगरपालिकामा मेयर जितेको राप्रपा र उपमेयर जितेको कांग्रेसबाट समेत खुलेर कसैले पनि नेतृत्वमा दाबी गर्न सकेका छैनन । गठबन्धन कस्तो हुने हो त्यसको पर्खाइमा छन अहिले शिर्ष पार्टीका नेताहरु ।
नेपाली कांग्रेसका एक नेताले पार्टीको केन्द्रीय नीति अनुसार स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नु भन्ने निर्णयले पनि अन्योलता देखिएको बताए । उनले भने,‘पार्टीले स्थानीय अवस्था अनुसार गठबन्धन गर्नु भएको छ । तर त्यो सबै ठाउँमा उपयुक्त छैन । कांग्रेसलाई गठबन्धन गरेर लड्दा दिर्घकालीन रुपमा धेरै घाटा हुने देखिएको कांग्रेसको स्थानीय स्तरका नेताहरुले बताउने गर्छन । कांग्रेसको शिर्ष पदमा रहेका एक नेताले नेपालगन्जमा कांग्रेसले एक्लै लड्नु पर्ने तर्क राख्छन । गठबन्धन बारेमा निर्णय भएपछि शिर्ष पदमा उमेदवारी दिनेहरुको नाम बाहिर आउने बताउँछन ति नेता । उनले थपे, ‘बाँकेमा पनि गठबन्धन गर्ने सम्भावना देखिएको छ । गठबन्धन गर्दा कसले कुन पद पाउने हो त्यसको ग्यारेन्टी छैन । अहिले पदमा दाबि मात्र गरेर के गर्नु ।’
यसैगरी नेपालगन्ज राप्रपाबाट निर्वाचन लड्ने उमेदवारहरु पनि खुलेर सार्वजनिक हुन सकेका छैनन । यसै साता राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उप–महानगरपालिका मेयर डा. धवल शमसेर राणाले पुर्व प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए ।
राणा र ओलीको भेटघाटले नेपालगन्जमा एमाले र राप्रपाले गठबन्धन गरेर निर्वाचन लड्न सक्ने संकेत गरेको धेरैले अनुमान गरेका छन । स्रोतका अनुसार मेयर डा. राणाले पनि पार्टी भित्र अहिले कसैलाई पनि कुन पदमा लड्ने भन्ने बारेमा बोलेका छैनन । उनले पाटीको जिल्लास्तरका नेतालाई पनि कसरी निर्वाचन लडने विषयमा बताउने गरेका छैनन । एमालेसँग गठबन्धन गर्ने संकेत देखिएपछि राणाले पार्टीभित्र आन्तरिक रुपमा चर्को विरोधको पनि सामना गरेका छन । नेपालगन्जमा राप्रपाका केहि नेताहरुले निर्वाचनमा एक्लै लड्नु पर्ने भन्दै सामाजिक संजालमा राणा प्रति आक्रोस समेत पोखेका छन ।
शिर्ष स्तरमा स्थानीय अवस्था हेरेर गठबन्धन गर्ने अधिकार दिएपनि स्थानीय स्तरमा केन्द्रको छाँया निर्देशनमा पार्टीहरु बिच गठबन्धनको सम्भावना देखिएको छ । नेपालगन्जको हकमा पनि त्यो लागु हुने सम्भावना बढी छ । एमाले र राप्रपाले गठबन्धन गरेको अवस्थामा सत्ता साझेदार पार्टी कांग्रेस, माओवादी, समाजवादी र जसपाबिच गठबन्धनको सम्भावना बढन सक्नेछ । तर पार्टीका जिल्ला स्तरीय नेताको व्यक्तिगत पद मोह र विविध स्वार्थ कारण गठबन्धन गर्न शिर्ष पार्टीलाई सहज भने पक्के पनि हुनेछैन ।