गठबन्धनको पक्षमा छैन राप्रपाको ‘ग्रासरुट’
Wednesday, April 6th, 2022, 12:12 pm
Kalpristha
कमल खत्री
नेपालगन्ज, २३ चैत
स्थानीय तहको निर्वाचनका बेला देशभरमा चर्चा हुने उप–महानगर हो नेपालगन्ज । पछिल्लो स्थानीय तहको निर्वाचनमा हिन्दु राज्य र राजसंस्था पुर्नस्थापनालाई मुख्य एजेन्डा बनाएर निर्वाचनमा होमिएको राप्रपाको चुनावी नतिजा सम्झन लायक थिएन । तर नेपालगन्जमा भने राप्रपाका डा. धवल शमसेर राणाले मेयरमा जिते । उपमेयरमा कांग्रेसकी उमा थापामगरले सफलता हात पारिन । नेपालगन्ज कांग्रेसको बलियो पकड भएको सहर हो ।
निर्वाचनको ८ दिन अघि कांग्रेसले आफना उमेदवारको रुपमा छानेको मेयरमा डा. सुरेश कनोडिया र उपमेयरमा उमालाई । राप्रपाबाट मेयरको मैदानमा उभिएका थिए राणा र उपमेयरमा रमारानी वैश्य ।
चिकित्सा र पिएचडीका दुई डाक्टरहरुको बिचको प्रतिस्पर्धामा धवलले र महिला नेतृहरुको लडाईमा उमाले बाजी मारिन ।
नेपालगन्जको २३ वडा मध्ये राप्रपाले ३ वटा मात्रै जित्दा पनि धवलले चुनाव जिते । राप्रपाका सफिक बेहना, सुरेन्द्र गुप्ता र कैफुलबरा अन्सारीले वडा अध्यक्ष जितेका थिए ।
कांग्रेसका उम्मेदवार कनोडियाले हार्नुमा कांग्रेस भित्रको अन्तरघात एउटा कारण थियो । अर्को कारण थियो एक पटक मेयर भैसकेका धवल भ्रष्टाचार नगर्ने नेताको छबी बनाएका नेता थिए ।
धवलले मेयर जितेपछि नेपालगन्जमा राप्रपाको प्रभाव ह्वातै बढने अनुमान थियो । तर त्यो देखिएन । अहिले दोस्रो स्थानीय तहको निर्वाचन आउँदै गर्दा राप्रपा चुनावमा एक्लै लड्ने वा गठबन्धन गर्ने भन्नेमा अन्योलमा छ । राप्रपाको केन्द्रीय नेतृत्वले एक्लै चुनाव लड्ने बताएका छन । तर नेपालगन्जमा भने गठबन्धनको पनि सम्भावना देखिन्छ ।
राप्रपाका महामन्त्री एवम् नेपालगन्ज मेयर राणा गठबन्धन गर्ने लाइनमा देखिन्छन । तर त्यसको बारेमा उनले अझै सार्वजनिक गरेका छैनन ।
यसै साता मेयर राणाले नेकपा एमाले नेता केपी शर्मा ओलीलाई भेटेको थिए । त्यो भेटलाई चुनाव नजिकिदै गर्दा अर्थपुर्ण रुपमा लिइएको छ । यसले सत्ता बाहिर रहेका पार्टीहरु बिच सहकार्य गर्ने सम्भावना बढाउने अनुमान छ । राप्रपाका शिर्ष नेताहरुले पनि अहिले गठबन्धन गर्ने कि एक्लै चुनाव लडने भन्ने निर्णय गर्न सकिरहेका छैनन । सत्ता गठबन्धन दलको सहकार्यलाई कुरेको देखिन्छ एमाले, राप्रपा ।
नेपालगन्जमा भने राप्रपाले एमालेसँग सहकार्य गर्ने अनुमान गरिएको छ । स्रोतका अनुसार मेयरमा एमालेका पशुपतिदयाल मिश्र र उपमेयरमा राप्रपाले लिएर चुनावमा जाने सम्भावना छ । एमालेसँगको सहकार्यले संसदीय चुनावमा धवललाई फाइदा हुने देखिन्छ । राप्रपाबाट मेयरमा दाबी गर्ने उमेदवारहरु धेरै देखिएका छैनन नेपालगन्जमा ।
यस्तो अवस्थामा एमालेसँग सहकार्य गरेर संसदीय चुनाव लड्दा राप्रपाका शिर्ष नेतालाई फाइदा हुने अनुमान गर्छन राप्रपाका केहि नेता ।
तर ग्रासरुट कार्यकर्ताको भावना अनुसार राप्रपाले नेपालगन्ज नगरमा एक्लै चुनाव लडनु पर्ने तर्क राख्छन राप्रपाका सह–महामन्त्री ऋषिराज देवकोटा । देवकोटा भन्छन,‘राप्रपाको नेतृत्व अहिले युवाहरुको हातमा छ । दोस्रो पुस्ताका नेताले पार्टी हाकिरहेका छन । देशभर राप्रपाको माहोल राम्रो छ । यस्तो अवस्थामा हामीले स्थानीय तहमा गठबन्धन गर्नु हुन्न । तर पार्टीले गठबन्धन गरेको अवस्थामा हामीले त्यसलाई मान्नै पर्ने पर्छ ।’
राप्रपाबाट मेयरमा दाबी गरिरहेका अर्का नेता तेजबिक्रम शाह पनि गठबन्धनको पक्षमा छैनन । पार्टी आफनो सैद्धान्तिक विचार र शंक्तिका आधारमा चुनाव लडनु पर्ने बताउँदै गठबन्धन स्थानीय तहमा आवश्यक नभएको उनी बताउँछन । यसले राप्रपालाई दिर्घकालिन रुपमा कमजोर बनाउने उनको विचार छ ।
वडा स्तरमा प्राय सबै पार्टीले उमेदवार छनोट गर्ने क्रम सुरु गरिसकेका छन । अब केहि दिनमै गठबन्धन बारे निर्णय गर्ने बिन्दुमा पुग्दैछन सबै पार्टीहरु । गठबन्धन बारे अझै स्पष्ट नभएपनि नेपालगन्ज नगरमा राप्रपाले कसरी चुनाव लड्छ भन्ने कुराले अर्थ राख्छ नेपालगन्जको निर्वाचनमा ।