ज्येष्ठ नागरिकको स्वास्थ्य जाँँच
Wednesday, April 6th, 2022, 9:31 pm
Kalpristha
खजुरा गाउँपालिकाले पाँच सय बढी वृद्धवृद्धाको स्वास्थ्य चेकजाँच गरेको छ । गाउँपालिकाले तीन दिनमा गाउँपालिकाका विभिन्न वडाका पाँच सय ५२ जना वृद्धवृद्धाको चेकजाँच गरेको हो ।
पालिकाले हरेक वर्ष पालिकाका सबै वडाका ज्येष्ठ नागरिकहरुको चेकजाँच गर्ने गरेको छ । विगत चार वर्षदेखि सुरु भएको उक्त योजनाअनुसार यो वर्ष पालिकाको स्वास्थ्य शाखाले सोमबारदेखि ज्येष्ठ नागरिकको चेकजाँच सुरु गरेको हो ।
पालिका अध्यक्ष किस्मत कुमार कक्षपति ज्येष्ठ नागरिक पालिकाको गहना भएकाले हरेक वर्ष चेकजाँच गर्ने गरेको बताउँछन् । उनीले ज्येष्ठ नागरिकलाई घरदैलोमा नै स्वास्थ्यको पहुँच बढाउन शिविर संचालन गर्दै आएको बताए ।
पालिकाले यो वर्ष पहिलो दिन सोमबार वडा नम्बर २ सीतापुर स्वास्थ्यचौकीमा शिविर संचालन गरेको थियो । जसमा एक सय सय ६८ ज्येष्ठ नागरिकले सेवा लिएका थिए । त्यस्तै दोस्रो दिन मंगलबार वडा नम्बर ६ आधारभूत स्वास्थ्य केन्द्र पुरैनीमा संचालन गरिएको शिविरमा एक सय ६८ जना र बुधबार वडा नम्बर ४ को ई गाउँमा संचालन भएको शिविरमा दुई सय ६ जना ज्येष्ठ नागरिको चेकजाँच भएको स्वास्थ्य शाखा प्रमुख सुदिप पौडेलले जनाकारी दिए ।
पौडेलका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा पनि एक हजार बढी ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच भएको थियो ।
यसरी ज्येष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गर्ने क्रममा खानपानबाट हुने स्वास्थ्य समस्या बढी देखिएको शाखा प्रमुख पौडेलले बताए । ‘पहिला सरुवा रोगहरुको प्रकोप बढी देखिन्थ्यो । तर अहिलो ज्येष्ठ नागरिकलाई खानपानबाट हुने सुगर, पे्रसर जस्ता रोगहरु बढी देखिएका छन्,’ उनले भने ।
पालिकाले संचालन गरेको शिविरमा विशेषज्ञसहितको टोलीले चेकजाँच गर्ने गरेको छ । जसमा आवश्यक चेकजाँचपश्चात ज्येष्ठ नागरिकलाई औषधि पनि वितरण गरिँदै आएको पौडेलले बताए ।
यसअघि पनि पालिकाले पालिकाका विभिन्न वडामा आँखा शिविरको आयोजना गरेको थियो । पालिकाले फागुन ११ गते संचालन गरेको शिविरमा एक सय ६५ जनाको आँखाको चेकजाँच भएको थियो भने २९ जना ज्येष्ठ नागरिकको निःशुल्क शल्यक्रिया गरिएको थियो ।
पालिकाले नेपालगन्जमा रहेको फत्तेवाल आँखा अस्पताल र भिजन आँखा अस्पतालको सहकार्यमा विभिन्न समयमा शिविर संचालन गरेको थियो ।
स्वास्थ्य शाखा प्रमुख पौडेलक पालिकामा आँखासम्बन्धी बिरामी धेरै भएकाले शिविर संचालन गरिएको बताए ।