भूमि आयोग अध्यक्ष यादवद्वारा पदभार ग्रहण
Wednesday, April 6th, 2022, 9:36 pm
Kalpristha
राष्ट्रिय भूमि आयोग बाँकेमा नियुक्त भएका अध्यक्ष श्रवण कुमार यादवले मंगलबार पदभार ग्रहण गरेका छन् । नेपालगन्जस्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् ।
अध्यक्ष यादवले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिवद्धतासमेत जनाए । उनले बाँकेमा भूमिसम्बन्धी समस्या जटिल रहेको बताउँदै भूमिहीनका समस्या समाधानमा विशेष कार्य गरिने र त्यसका लागि सबै दल, जनताको समेत सहयोग आवश्यक रहेको बताए ।
सो अवसरमा अध्यक्ष यादवलाई शुभकमना दिँदै पूर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले भूमिहीन र सुकुम्वासीका समस्या समाधानको जिम्मेवारी पाएको आयोगले समस्यालाई सधैंका लागि समाधान गरोस भन्ने बताए । उनले आयोगले परिणाममुखी काम गरेर देखाउनु पर्नेमा जोड दिँदै त्यसका लागि सबैको सहयोग लिएर सकेसम्म सबैलाई समेटेर कार्य सम्पादन गर्न सुझाव दिए ।
सो अवसरमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तव, जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राई र सचिव राजेन्द्र विश्वकर्मालगायतले पनि आयोगका अध्यक्ष यादवलाई शुभकामना तथा बधाई दिएका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन कर्यालयका प्रशासकीय अधिकृत, भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख, नापी कार्यालयका प्रमुख, डिभिजन वन कार्यालय बाँकेका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
आयोगका सदस्यहरुले केही दिनपछि पदभार ग्रहण गर्ने बताइएको छ । जनता समाजवादी पार्टी नेपालगन्ज नगर समितिका अध्यक्ष यादवलाई केही दिन अघिमात्र सरकारले राष्ट्रिय भूमि आयोग बाँकेको अध्यक्षमा नियुक्त गरेको थियो ।