वैज्ञानिक वन व्यवस्थापन गर्न माग
Wednesday, April 6th, 2022, 9:37 pm
Kalpristha
वैज्ञानिक वन व्यवस्थापनको माग गर्दै वैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता लुम्बिनी प्रदेश महासंघ नेपालले बुधबार डिभिजन वन कार्यालय बाँके र जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ । वैज्ञानिक वन ब्यवस्थापन कार्ययोजना कार्यान्वयन नभएको भन्दैं महासंघले दवाब स्वरुप सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो ।
वैज्ञानिक वन ब्यवस्थापन उपभोक्ता लुम्बिनी प्रदेश महासंघका अध्यक्ष दीपक कुमार थापा, महासंघ बाँकेका अध्यक्ष कृष्ण केसी सहितको टोलीले डिभिजन वन कार्यालय बाँकेका प्रमुख अजितकुमार कर्ण र सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीलाई ज्ञापन पत्र दिएका हुन ।
वैज्ञानिक वन ब्यवस्थापन कार्ययोजना कार्यान्वयन नहुनु, उपभोक्ताको अधिकार कुण्ठित हुनुका साथै वन संरक्षण र ब्यवस्थापनमा नकारात्मक प्रभाव परेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
वैज्ञानिक वन ब्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको तर प्रचलित वन ऐन÷नियमावली अनुसार स्वीकृत भएका सामुदायिक साझेदारी वन तथा चक्ला वनका कार्ययोजनाहरु कार्यान्वयन नगरिएको महासंघको ज्ञापन पत्रमा जनाइएको छ ।
राष्ट्रिय वन प्रदेश सरकारको एकल अधिकार सूचीमा रहेको, प्रदेश वन ऐन समेत स्वीकृत भइसकेको सन्दर्भमा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागु भएका वनहरुमा स्वीकृत कार्ययोजना अनुसारका कार्य सञ्चालन गर्न जोडदार माग गरिएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघले अनावश्यक रुपमा कार्यक्रमको विरोध गरी भ्रम सिर्जना गर्ने कार्य पनि गर्दै आएकोमा त्यस्तै भ्रमबाट २०७१ साल माघमा तत्कालिन संसदिय वन वातावरण समितिले वैज्ञानिक वन ब्यवस्थापन कार्यक्रमलाई रोक्का गर्न निर्देशन दिएको महासंघले जनाएको छ ।