देशको अर्थतन्त्र ध्वस्त भयो : पूर्व प्रधानमन्त्री ओली
Thursday, April 7th, 2022, 6:51 pm
Kalpristha
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र ध्वस्त भएको बताएका छन् । ओलीले घठबन्धनको नौ महिनामा देशको अर्थतन्त्र ध्वस्त पारेको बताए ।
नेकपा एमाले बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले सरकारबाट हटेपछि देशको ढुकुटी खाली हुँदै गएको बताए ।
ओलीले भने, ‘एमाले सरकारबाट हटेपछि अर्थतन्त्र ध्वस्त भएको छ । लगानी गर्ने पूँजी छैन । यसले देशलाई झन गरिब हुनबाट बचाउन सकिदैन । यी समस्याबाट पार लगाउन आगामी चुनावमा एमालेलाई जिताउनु पर्छ ।’
त्यस्तै ओलीले आगमी चुनावमा विदेशी षड्यन्त्र सफल हुन नदिन एमालेले बुहमत ल्याउनु पर्ने बताए । ‘पाँच दलीय गठबन्धनलाई हराउन सकिएन भने नेपालमा विदेशी प्रतिक्रियावादीको षड्यन्त्र सफल हुन्छ । प्रतिक्रियावादी शक्तिहरु, दलाल पूँजीवाद भनेपनि यिनै पाँच दलीय गठबन्धन हुन् । यिनलाई हराउन सकिएन भने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु सक्रिय हुन्छन् । देश फेरि पछाडि पर्छ’, ओलीले भने ।
ओलीको अध्यक्षमा सम्पन्न कार्यक्रममा नेकपा समाजवादी एकीकृतका धेरै नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश छन् । जसलाई सम्बोधन गर्दै ओलीले बाँकेबाट ‘एस’ भन्ने सब्द नै हराएको बताए । साथै गठबन्धनलाई अब धुलो चटाउन सकिने उनले बताए ।
साथै कार्यक्रममा ओलीले हालै बाँकेको नरैनापुरमा आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एक एक लाख दिने घोषणासमेत गरे ।
कार्यक्रममा नेकपा समाजवादी पार्टीका परिचित नेता किशोर थापासहित दजौनौ एमाले फर्किएका छन् । थापा युवा संघको लुम्बिनी प्रदेश अध्यक्ष र समाजवादी पार्टीका जिल्ला उपसचिव थिए । साथै समाजवादीबाट बैजनाथ, खजुरा र जानकी गाउँपालिकाका प्रभावशाली युवाहरु पनि एमालेमा फर्केका छन् । सोही कार्यक्रममा डुडुवाकी महिला नेतृ सरोजकुमारी यादव पनि एमाले प्रवेश गरेकी छन् ।