डुडुवामा राष्ट्रिय कुस्ती प्रतियोगितासुरु
Thursday, April 7th, 2022, 8:57 pm
Kalpristha
बाँकेकोे डुडुवा गाउँपालिकामा राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिता–२०७८ सुरु भएको छ । डुडुवा गाउँपालिकाको सहयोगमा नेपाल कुस्ती संघ बाँकेले प्रतियोगिता आयोजना गरेको हो ।
बिहीबार एक समारोहका बिच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रतियोगितामा चौधरीले पछिल्लो अवस्थामा कुश्ती प्रतियोगिता हराउँदै गएकोले त्यसलाई प्रोत्साहन गर्न कुश्ती प्रतियोगिता आयोजना गरिएको बताए ।
चौधरीले कुश्ती खेल परापूर्वकालमा गाउँघरमा साथीहरुबीच खेल्ने एउटा मनोरञ्जनको रुपमा लिने गरेकाले यस्ता प्रतियोगितालाई जिवन्त बनाउनुपर्नेमा जोड दिए ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य लिलावती यादव, स्थानीय युवा बेलबहादुर बोहरा लगायतले शुभकामना व्यक्त गरे ।
डुडुवा गाउँपालिका–५ स्थित छग्रहवा खेल मैदानमा सुरु भएको प्रतियोगितामा नेपालका सातवटै प्रदेशबाट सातवटा टिम,नेपाल प्रहरी र नेपाली सेनाको एक–एक गरेर नौ वटा टिमको सहभागिता रहेको छ ।
नौ वटा टिममा १८ जना महिला र १८ जना पुरुषको सहभागिता रहेको कुश्ती संघ बाँकेले जनाएको छ । प्रतियोगितामा सहभागी खेलाडीहरुलाई ट्रेकसुट, गाडी भाडा, मेडल र प्रमाण पत्र प्रदान गरिने कुश्ती संघ बाँके अध्यक्ष रिजवान शेषले बताए ।
प्रतियोगिता शुक्रबारसम्म संचालन रहने संघले जनाएको छ । प्रतियोगितामा कुश्तीका कोच इकवाल राई रहेका छन् ।