कृषिमा आत्मनिर्भर बन्दै खजुरा
Friday, April 8th, 2022, 8:46 am
Kalpristha
खजुरा गाउँपालिका वडा नम्बर ५ मा १५ कट्ठा जमिनमा ६ करोड १४ लाख रुपैयाँको लागतमा शितभण्डार निर्माणको काम सुरु भएको हो । जसमा हालसम्म तीन करोड रुपैयाँ खर्चेर गाउँपालिकाले भौतिक निर्माण सम्पन्न गरिसकेको छ ।
विक्रम बुढाक्षेत्री
‘खजुराकृषिको प्रचुर सम्भावना बोकेको क्षेत्र हो । खजुरालाई कृषिमा आत्मनिर्भर बनाउन गाउँपालिकाले प्रत्येक वर्ष किसानलाई उनीहरुको आवश्यकता अनुसार योजना बनाउने, कार्यान्वयन गर्ने, अनुदानका कुराहरुलाई प्राथमिकता दिने कामहरुलाई अपनत्व गरिरहेको छ र हरेक वर्ष कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्यलाई पालिकाले साकार गर्दै लगेको छ’, यो भनाइ हो खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको ।
त्यस्तै पालिका उपाध्यक्ष एकमाया विक भन्छिन्, ‘खजुरामा कृषि योग्य जमिन धेरै छ । हामी कृषिबाटै आत्मनिर्भर हुन सक्छौं ।’
विगत २० वर्ष बढी कर्मचारीको मातहतमा चलेको स्थानीय निकायमा साच्चिकै जनप्रतिनिधि आएपछिको परिवर्तन देख्न सकिन्छ । चाहे त्यो कृषिको क्षेत्रमा होस् वा अन्य कुनै क्षेत्रमा । त्यस्तै खजुराले हरेक वर्ष जनमूखी योजना बनाएर सोही अनुरुपमा बजेट कार्यान्वयन गर्दै आएको छ । जसमा कृषि खजुराको प्रमुख प्राथमिकतामा पर्दछ ।
खजुरा गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेल पालिकाले किसानलाई धेरै सहयोग गर्दै आएको बताउँछन् । ‘कृषि क्षेत्रका लागि त केही भन्नै पर्दैन । खजुराले किसानलाई गर्न सक्ने सबै काम गरेको छ । त्यसका अनुदानका कुरा होस् वा तालिमका कुरा या अन्य । वर्षमा एक हजारभन्दा धेरै किसानले गाउँपालिकाबाट प्रत्येक्ष लाभ लिने गरेका छन्,’ योजना अधिकृत पौडेलले भने ।
खजुराले कृषि क्षेत्रको विकासका लागि आर्थिक वर्ष २०७८÷०८९ मा एक करोड ८० लाख रुपैयाँमात्रै सिँचाई तथा यान्त्रिकरणमा खर्च गरेको छ । जसमा एक करोड बढी गाउँपालिकाले खर्च गरेको पालिकाको कृषि शाखा प्रमुख पुनम पोखरेलले बताइन् । शाखा प्रमुख पोखरेल भन्छिन्, ‘सुरु–सुरुका वर्षमा किसानहरुले यान्त्रिकरण र सिँचाइको बढी माग गर्नु हुन्थ्यो । तर सो समयमा बजेट कम थियो । अहिलेको अवस्थामा पालिकाले पनि यान्त्रिकरण र सिँचाइमा बढी बजेट छुट्याउने गरेको छ ।’
पालिकाले यो वर्ष किसानलाई ३३ वटा मिनि टेलर, १ सय २३ वटा पावर टेलर, २१ वटा मोटर, ६२ वटा पम्पसेट, १५ वटा धान काट्ने मेसिनलगायत वितरण गरिसकेको छ । उक्त सामाग्री पालिकाले कम्तीमा पाँच कट्ठा जमिनमा कृषि खेती गरिरहेका व्यक्ति, समूह, फर्महरुलाई वितरण गरिएको पोखरेलले बताइन् । पालिकाको ५० र किसानको ५० प्रतिशत सहयोगमा उक्त अनुदान वितरण गरिएको थियो ।
त्यस्तै पालिकाले आर्थिक वर्ष २०७६÷०७७ देखि एक वडा एक नमूना फार्मको पनि अवधारणलाई कार्यान्वयन गरेको छ । जसमा पालिकामा भएका आठवटै वडा रहेका नमूना फर्मलाई ४५ हजारसम्मको सहयोग गरिने गरेको पोखरेलले बताइन् । साथै नमुना फर्मअन्तर्गत खजुरा गाउँपालिकाको वडा नम्बर ३ मा रहेको तारा मौरी फर्मलाई पालिकाले एक थान मह प्रशोधन मेसिनसमेत उपलब्ध गराएको छ ।
पालिकाले गरेको अर्को महत्वपूर्ण काम भनेको एक वडा एक बाली हो । गाउँपालिका अध्यक्ष कक्षपतिका अनुसार हरेक वडामा बढी उत्पादन हुने कृषि उत्पादनको आधारमा सोही बालीलाई प्रोत्साहन गर्न यो योजना लागू गरिएको हो ।
पालिकाले सुरु गरेको एक वडा एक बाली योजना गाउँपालिकाले पालिकाका सबै वडालाई फरक–फरक उत्पादनका आधारमा विभाजन गरेको छ । जुन अनुकरणिय काम हो भन्न सकिन्छ । जसले कृषि उत्पादनमा थप मद्यत पुग्ने पोखरेलले बताइन् ।
हाल गाउँपालिकामा रहेको वडा नम्बर एक लाई बेसार बालीका रुपमा विकास गरिएको छ । त्यस्तै वडा नम्बर २ लाई टमाटर, वडा नम्बर ३ लाई तरकारी तथा फलफूल, वडा नम्बर ४ लाई च्याउँ, वडा नम्बर ५ र ६ लाई खाद्यान्न, वडा नम्बर ७ लाई लसुन र वडा नम्बर ८ लाई जरेबाली अर्थात आलु, मुला, गाजर, प्याजलगायतमा वर्गिकृत गरिएको छ ।
पोखरेल भन्छिन्, ‘यसरी वडामा उत्पादन भएका वस्तुका आधारमा वग्रिकरण गरियो भने । पालिकालाई योजना बनाउन सजिलो हुन्छ । अनि सो वडामा कति किसानले खेती गरिरहेका छन् र उहाँहरुको आवस्यकता के हो । साथै किसानलाई थप खेती गर्न मद्यत पुग्छ ।’
त्यसैमा पालिकाले बाली उपचार शिविरलाई पनि प्राथमिकता दिएको छ । पालिकाले किसानले लगाएका बालीमा भएका समस्यालाई समाधान गर्नसो योजना अघि सारिएको हो । बाली उपचार सिविरले किसानलाई बालीका कुन विषाधी प्रयोग गर्नु पर्छ भन्ने समस्याको समाधान भएको पोखरेलले बताइन् ।
पालिकाले किसानलाई विभिन्न किसिमका तालिम पनि उपलब्ध गराउँदै आएको छ । जसमा ग्रिनसिटी पाइलट प्रोजेक्टअन्तर्गत मात्रै ३० जना किसानलाई तालिम दिइएको पोखरेलले बताइन् । यसका अलवा जैविक विषाधी प्रवद्र्धन तथा नविनतम प्रविधिमा सय बढीलाई तालिम, चार सय बढीलाई स्थलगत तालिम पनि रहेका छन् ।
त्यसैगरी पालिकाले चार करोड बढी लागतमा हेफर प्रोजेक्टको सहयोगमा कृषि उद्यमशिल योजना पनि अघि सारेको छ । जसमा पालिकाका एक हजार आठ सय व्यक्तिले यसबाट प्रत्येक्ष लाभ लिनेछन् । साथै कृषि शाखाले कृषि उद्यमका लागि घरदैलो कार्यक्रम पनि गर्ने योजना रहेको पोखरेलले बताइन् । त्येस्ते कृषि सहुलियत कर्जामा पनि पालिकाको चासो उत्तिकै रहेको छ ।
शाखा प्रमुख पोखरेल पालिकाले किसानलाई विभिन्न जातका बीउविजन पनि अनुदानमा दिने गरेको बताइन् । उनका अनुसार पालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई बीउ वितरण गर्ने गरेको छ ।
पालिकाले यो वर्षमात्रै एक सय किसानलाई च्याउँ, एक सय ५० किसानलाई तरकारी एवम् एक सय बढी किसानलाई टमाटरको बीउ वितरण गरेको छ ।
यी यस्ता कार्यक्रमबाट खजुरामा रहेका किसानहरुमा कृषिप्रति आकर्षण बढेको पाइन्छ र उत्पादन पनि बढ्दै गएको पाइन्छ । हालको अवस्थामा खजुरामा उत्पादन भएका कृषि सामग्रीहरुको निर्यात नेपालगन्जदेखि पोखरा र काठमाडोैंसम्म पनि पुग्ने गरको नेपालगन्जका तरकारी व्यापारीहरु बताउँछन्् । विशेषगरी मौसमअनुसार काक्रा, टमाटरलगायतका उत्पादित वस्तु निर्यात हुने गरेको हो ।
यसरी खजुरा गाउँपालिकाका किसानले उत्पादन गरेका सामानहरुको भण्डारण गर्न पालिकाले शितभण्डारको पनि निर्माण गरिरहेको छ । जसको निर्माण कार्य अन्तिम चरणमा पुगेको योजना प्रमुख पौडेलले बताए ।
खजुरा गाउँपालिका वडा नम्बर ५ मा १५ कट्ठा जमिनमा ६ करोड १४ लाख रुपैयाँको लागतमा शितभण्डार निर्माणको काम सुरु भएको हो । जसमा हालसम्म तीन करोड रुपैयाँ खर्चेर गाउँपालिकाले भौतिक निर्माण सम्पन्न गरिसकेको छ ।
कृषिमा आत्मनिर्भर भएसँगै समग्र पालिकाले आत्मनिर्भरको बाटो अवलम्बन गर्ने अध्यक्ष कक्षपतिको भनाइ छ । उनी पालिकाले पूर्वाधार विकासमा मात्रै जोड दिँदा परमुखी हुने भएकाले उत्पादनलाई पनि जोड दिनु पर्ने बताउँछन् ।
तस्विर : गत चैत ३ गते पालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई पावर टेलर वितरण गरेको झलक । फाइल तस्बिर