बन्ने भयो अब नेपालगन्ज क्रिकेट एकेडेमी
Wednesday, April 13th, 2022, 12:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ३० चैत
नयाँ वर्षको पुर्व सन्ध्यामा बाँके क्रिकेटले एउटा सुखद उपलब्धी हात पारेको छ । खेलाडीहरुलाई अभ्यास गर्ने स्थलको अभाव भैरहेको बेला नेपालगन्ज उप–महानगरपालिकाले बाँके जिल्ला क्रिकेट संघलाई जग्गा उपलब्ध गराएको छ । नेपालगन्ज उप–महानगरपालिका–१३ वडा रहेको १० कठठा एैलानी जमिन क्रिकेट संघले पाएको छ ।
जसमा नेपालगन्ज क्रिकेट एकेडेमी लगायतको संरचना बनाउने योजना बनाएको छ बाँके जिल्ला क्रिकेट संघले । खेलाडीहरुको लागि दैनिक प्रशिक्षण, नयाँ खेलाडीलाई क्रिकेट सिकाउने गरी एकेडेमी, कार्यालय भवन सहितको भौतिक संरचना निर्माण गर्ने योजना रहेको बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष सरोवर प्रसाईले बताए ।
उनले भने,‘नेपालगन्ज नगरपालिका र वडा नम्बर १३ लाई विशेष धन्यवाद दिन चाहन्छौं । क्रिकेट खेलाडीको भावनालाई बुझेर उहाँहरुले जग्गा उपलब्ध गराइदिनु भएको छ । अब हामी त्यसमा खेलाडीहरुको लागि अभ्यास र कार्यालय भवन निर्माण गरेर क्रिकेटको विकासको निम्ति व्यवस्थित भएर काम गर्नेछौं ।’
गत माघ २० गते बाँके जिल्ला क्रिकेट संघले वडा नम्बर १३ लाई वडामा भएको सरकारी जमिन खेलाडीको निम्ति उपलब्ध गराईदिनको लागि अनुरोध गर्दै पत्र पठाएको थियो ।
१३ नम्बरका वडा अध्यक्ष विरेन्द्र शाहले त्यसलाई नेपालगन्ज नगरपालिकाको बोर्ड बैठकमा पेस गरेका थिए । बोर्ड बैठकले सो प्रस्तावलाई पारित गरेको अध्यक्ष प्रसाईले कालपृष्ठलाई बताए ।
बाँके जिल्लाको नेपालगन्ज क्रिकेटका लागि प्रसिद्ध सहर हो । नेपालगन्जबाट थुप्रै खेलाडीले नेपाली टोलीबाट क्रिकेट खेलिसकेका छन । तर मैदान अभाव कारण नेपालगन्जमा भने क्रिकेटले सोचे जस्तो व्यवसायिक सफलता हासिल गर्न सकेको छैन ।
खेलाडीलाई ढुक्क भएर क्रिकेट खेल्ने र सिक्ने ठाउँको अभाव थियो । त्यसलाई कम गर्न १३ नम्बर वडामा रहेको जमिनले धेरै ठुलो सहयोग गर्ने अध्यक्ष प्रसाईले विश्वास व्यक्त गरे । उनले थपे,‘वडा अध्यक्ष विरेन्द्र शाह र नेपालगन्ज उप–महानगरपालिकाको बोर्डलाई हामी आभार प्रकट गर्न चाहन्छौं । आज हामीले वर्षो देखी गर्न नसकेको काम अब सुरु गर्ने भएको छौं । यसमा सबैको सहयोग र साथ आवश्यक पर्छ ।’
यसैगरी बाँके जिल्ला क्रिकेट संघलाई नेपालगन्ज उप–महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि जग्गा दिने पनि तयारी गरेको थियो । तर कानुनी समस्या कारण उक्त जमिनमा क्रिकेट रंगशाला निर्माणको काम सुरु हुन सकेको छैन ।