‘रोजा इफ्तार’ मा पूर्व प्रधानमन्त्री ओली
Saturday, April 16th, 2022, 9:00 pm
Kalpristha
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मुस्लिम समुदायको ‘रोजा इफ्तार’ मा सहभागी भएका छन् । मुस्लिम समुदायको पवित्र महिना रमजान चलिरहँदा ओली शनिबार नेपालगन्ज आएर रोजा इफ्तारमा सहभागी भएका हुन् ।
एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनले नेपालगन्जमा शनिबार ‘रोजा इफ्तार’ को आयोजना गरेको छ । कार्यक्रममा ओलीले समेत मुस्लिम समुदायसँगै रोजा इफ्तार गरेका छन् ।
कार्यक्रममा बोल्दै ओलीले नेपाल सामाविक विविधताको देश भएकाले रमजानले सामाजिक एकता पर्वको प्रतिक गर्ने गरेको बताए । एमाले नेतृत्वको सरकारले विगतमा मुस्लिम समुदायको चार्डपर्वलाई विशेष प्राथमिकता दिएको बताए । एमाले नेतृत्वको सरकारको पालामा हज कमिटीले मुस्लिम समुदायका लागि राम्रा कामहरु गरेको उनले दाबी गरे ।
=
पार्टी अध्यक्ष ओलीसँगै उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेल, पार्टीका केन्द्रीय सदस्यहरु मोहम्मद हारुण, सूर्य ढकाल, पशुपति दयाल मिश्रलगायत नेताहरु रोजा इफ्तारमा सहभागी भएका थिए ।
मुस्लिम इत्तेहाद संगठनले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पार्टी अध्यक्ष ओलीको उपस्थितीमा रोजा इफ्तार कार्यक्रम राखेको हो । नेपालगन्ज मुस्लिम समुदायको बाहुल्यता रहेको क्षेत्र हो। निर्वाचनमा यहाँका मुस्लिम समुदाय निर्णायक मानिन्छन्।
तस्बिर साभार : नागरिक दैनिकबाट