एक्ला एक्लै चुनावी प्रतिस्पर्दा गर्ने निर्णय
Saturday, April 16th, 2022, 9:05 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा ३ बैशाख
स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई विजयी गराउने विषयमा बसेको जिल्लास्थित गठबन्धन दलको बैठक विना निश्कर्ष टुङ्गिएको छ । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सत्तासाझेदार दल बीच भागबण्डा नमिल्दा विना निश्कर्ष बैठक टुङ्गिएको हो । नेकपा(एकीकृत समाजवादी)ले स्थानीय तह भागबण्डाको क्रममा अस्वभाविक मागदावी गरेपछि चुनावी तालमेल गर्ने अवस्थाको अन्त्य भएकोे नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज रामलाल विश्वकर्माले जानकारी दिए ।
नेकपा माओवादी केन्द्र नेकपा (एकीकृत समाजवादी) र नेपाली काँग्रेसका जिल्लास्थित नेतृत्वमा दुई दिन सम्म सघन छलफल हुँदासमेत नेकपा माअेवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी)ले पचास पचास प्रतिशतको हिस्साको दरले उम्मेद्वार र पालिकामा दावी गरेपछि सहमति हुन नसकेको बताउँदै गठबन्धन नगर्ने निर्णय सहितको पार्टीको निर्णय गरेर केन्द्रमा पठाइएको नेपाली काँग्रेसका केन्द्रिय सदस्य कर्णबहादुर बुढाले बताए ।
नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीको विउ समेत नभएको मुडकेचुला र जगदुल्ला गाउँपालिका सहित त्रिपुरासुन्दरी नगरपालिकामा प्रमुख र बहुमत वडाअध्यक्षको दावी गरेको र नेकपा माओवादी केन्द्रले पनि ठूलीभेरी नगरपालिका र डोल्पोबुद्द शे फोक्सुण्डो छार्काताङसोङ गाउँपालिकामा प्रमुख सहित वडाअध्यक्षको दावी गरेपछि सहमति हुन नसकेको हो ।
जिल्लामा ६ ओटा गाउँपालिका र दुई ओटा नगरपालिका रहेका छन ।२०७४ को स्थानीय तह निर्वाचनमा दुई नगरपालिका र ६ ओटा गाउँपालिकामा विजय प्राप्त गरेको नेकपा एमाले पार्टीका नेता तथा कार्यकर्तालाई बैशाख ३० मा हुने निर्वाचनमा सत्तागठबन्धनको चुनावी तालमेले सकस हुने देखिएको अवस्थामा गठबन्धन नै भत्किएपछि विजय हासिल गर्न सहज हुने भएको नेपाली काँग्रेसका तुलबहादुर बोहराले बताए ।
जिल्लास्थित सत्तासाझेदार दलहरु वीच चुनावी तालमेल नगर्ने निर्णय भएपनि त्रिपुरासुन्दरी नगरपालिकामा भने संस्थापक काँग्रेस पक्ष र नेकपा माओवादी केन्द्र वीच नगर प्रमुख र उपप्रमुखमा चुनावी तालमेल हुने भएको छ ।
नेपाली कांग्रेस पार्टीको तर्फबाट नगरमेयरका आकाँक्षी दिलबहादुर विष्टले टिकट पाएमा नेकपा माओवादी केन्द्रले उपप्रमुख लिएर उम्मेदवार विजयी गराउन चुनावी तालमेल हुने सहमति भएको नेकपा माओवादी केन्द्रका रामलाल विश्कर्माले बताए ।
जिल्लास्थित सत्तासाझेदार दलहरुको बैठकमा सहमति हुन नसकेर चुनावी तालमेल नगर्ने निर्णय भएलगत्तै त्रिपुरासुन्दरी नगरपालिकामा नेकपा माओवादी केन्द्र र त्रिपुराकोटस्थित नेपाली कांग्रेस संस्थापन पक्षको बैठक बसेर आफ्नो पालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।