कैलाश भवन बनाउन नीलसागरलाई सकस
Saturday, April 16th, 2022, 9:07 pm
Kalpristha
विक्रम बुढाक्षेत्री
नेपालगन्ज, ३ वैशाख
२०७७ चैत २५ गते अपरान्ह समयमा एक व्यक्ति कालपृष्ठ दैनिकको कार्यालयमा आई पुगे । आफूलाई विज्ञान बताउने उनको अवस्था नाजुक रहेको सहजै अनुमान लगाउन सकिन्थ्यो । आफ्नो नाम बाहेक उनलाई अरु केही पनि याद नभएको उनले कालपृष्ठकर्मीसँग बताएका थिए । उनका समस्याका बारेमा विज्ञानसँग केहीबेर कुरा गरेपछि हामीले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर विज्ञानलाई प्रहरीसँग सुम्पियो । हामीले विज्ञानलाई प्रहरीसामु सुम्पिएको केही घण्टामै प्रहरीले विज्ञानलाई नेपालगन्जमा रहेको नीलसागर सेवा आश्रमलाई जिम्मा लगायो र आफू पन्छियो ।
माथि उल्लेखित यस्ता घटना नेपालगन्जलगायत बाँके जिल्लामा कुनै अनौठो घटना होइन । प्रहरीले बाटोमा भेटेका वा आफ्नो सम्पर्कमा आएको वृद्धवृद्धा होस् वा कुनै अन्य समस्या भएको व्यक्तिहरु जसको सम्पर्कमा उनका आफन्त छैनन्, उनीहरुलाई नीलसागर सेवा आश्रमलाई नै जिल्लामा लगाउने गरेको छ । यतिमात्रै हैन प्रहरी बाहेक अन्य सर्वसाधरणले पनि अनाथ, असाय, असक्त व्यक्तिहरुको सम्पर्कतालाई नीलसागरसँग नै जोड्ने र नीलसागरलाई जिम्मा लगाउने गर्दछन् । मानौ कहि कतै कोही सडक मानव, बालबालिका, वृद्धवृद्धा, असाय, असक्त, अनाथ भेटियो भने उसको जिम्मा नीलसागरले नै लिन्छ भन्न् मान्यताको विकास भई सकेको छ ।
तर पनि नीलसागर सेवा आश्रमले भेटेजति त्यस्ता व्यक्तिहरुलाई आफ्नो सम्पर्कमा ल्याउने, उनीहरुको पालनपोगषणको जिम्मा सहर्स स्वीकार गर्दै आएको छ । नीलसागर सेवा आश्रमको मान्यता नै सडकमुक्त मान हो र यसमा नीलसागर कटिबद्ध रहेको छ ।
…..
नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको नीलसागरले सात वर्षदेखि निरन्तर सडक मुक्त मानवको सेवामा लागि रहेको छ । हाल नीलसागरले नेपालगन्ज लगायत कोहलपुर, दाङ, बर्दिया, पाल्पा, पोखरालगायतका जिल्लामा आफ्नो शाखा विस्तार गरेर सवा प्रदान गरिरहेको छ ।
तर वीडम्बना नीलसागरको आफ्नो भौतिक संरचना भने छैन । सायद नीलसागरको भौतिक संरचना निर्माणमा सम्बन्धित निकायदेखि आम जनताले चासो दिन सकेका छैनन् । बस नीलसागरको गर्नु पर्ने कर्तव्यलाई घचघचाई रहेका छन् ।
तर नीलसागर आफ्नै भवन ‘कैलाश भवन’ बनाउन निरन्तर लागिरहेको छ ।
सडकमुक्त मानव बनाउने अभियानमा वृद्ध–वृद्धा, अनाथ बालबालिका, अपांग तथा असायको घर बन्दै आएको नीलसागर सेवाश्रम विगत तीन वर्षदेखि आफ्नै भवन बनाउन जुटिरहेको छ । नीलसागरले निर्माण गर्न लागेको कैलश भवनको काम तीन वर्षमा ४० प्रतिशतमात्र पूरा हुन सकेको छ । तर आर्थिक अभावका कारण भवन निर्माणको काम हाल स्थिगित जस्तै बनेको छ ।
एक वर्ष अगाडि कालपृष्ठ कर्मीले उक्त निर्माणाधीन भवनको रिपोर्टिङ गर्ने क्रममा उक्त भवनको जग हालिएको थियो भने वरिपरी केही मात्रामा वालहरु लगाइएको थियो । र एक वर्षपछि उक्त भवनको एकभाग ढलानमात्र हुन सकेको छ ।
पाँच करोड लागत लाग्ने उक्त भवनका लागि हालसम्म ४० लाख खर्च भई सकेको नीलसागरकी अध्यक्ष सरिता नीलसागरले बताइन् । उक्त योजनामा हालसम्म प्रदेश सरकारले मात्र सहयोग गरेको उनले बताइन् ।
यसरी अपुरो भवनलाई पूरा गर्न नीलसागरले नेपालगन्जमा धार्मिक महामहोत्सव आयोजना गर्यो तर त्यो पनि असफल जस्तै सावित बन्न पुगेको छ । २० लाख लागत लगायर नेपालगन्जमा विशाल धार्मिक महामहोत्सवको आयोजना गर्दा पनि न स्थानीय निकायको आँखा पुग्यो न त सर्वसाधारण वा कुनै संघ–संख्थाको ।

=
नीलसागरले गत चैत २७ गतेखि वैशाख ४ गतेसम्म नेपालगन्जको रामलिला मैदानमा महोत्सवको आयोजना गरिरहेको छ । उक्त महोत्सवको उद्देश्य नै निर्माणाधीन कैलाश भवनको निर्माण गर्नु हो ।
सरिता नीलसागर भन्छिन्, ‘महोत्सवबाट रकम संकलन गरी भवन निर्माण गर्ने उद्देश्य हो हाम्रो । तर कैलाश भवन बनाउने सपना अधुरै रह्यो । यहासम्मकी धार्मिक महोत्सव गर्न लागेको खर्चसमेत उठाउन हामीलाई समस्या परेको छ ।’
नीलसागरले महोत्सव अवधिको प्रत्येक दिन ७ बजेदेखि पूजापाठ, यज्ञ प्रारम्भ गर्दै आएको छ । प्रत्येक दिन बिहान १० बजेदेखि संगितमय कथा प्रवचन र प्रत्येक दिन रात्री ७ बजेदेखि १० बजेसम्म कलाकारद्वारा किर्तन, भजन कथा वाचन, झाँकी प्रस्तुत गरिने गरिएको छ ।
महोत्वसवमा मानिसको उपस्थिति नभएको पनि होइन् । तर दानदाताको कमी रहेको सरिता बताउँछिन् ।
निलसागर सेवा आश्रमका उपाध्यक्ष अमन निलसागर भवन बनाउन रकमै दिनु नपर्ने बताउँछन् । उनी भन्छन्, ‘हामीलाई पैसा नै दिनु पर्छ भन्ने छैन । आफ्नो पृतिको नाममा कुनै कोठा बनाइदिए पुग्छ । वा सिलालेखमा नाम उल्लेख हुनेगरी २१ हजार सहयोग गर्दिय पुग्छ ।’
………
नेपालगन्जमा रहेको नीलसागर सेवा आश्रममा मात्रै हाल १ सय ८० जना व्यक्तिहरु रहेका छन् । साथै धार्मिक महोत्सवका क्रममा नीलसागरले १२ जना वृद्धवृद्धालाई उद्धारसमेत गरेर आश्रममा ल्याएको छ ।
सबै आमाबुवाको व्यवस्थापनका लागि नीलसागरले मासिक मात्रै ५० हजार रुपैयाँ भाडा तिरेर घरको व्यवस्थापन गरेको छ । हाल नीलसागर रहेको उक्त भवन वृद्धवृद्धाका लागि भने उपयुक्त नभएको सरिता बताउँछिन् । जसका कारण वृद्धवृद्धालाई लक्षित गरेर नीलसागरले भवन बनाउन लागि परेको हो ।
त्यस्तै नीलसागर सेवा आश्रम रहेको बाँके, बर्दिया, दाङ, पाल्पा, पोखरालगायतका स्थानमा ६ सय ३० जना अभिभावकविहीन सडक आश्रित व्यक्तिहरुको हेरचाह गरिरहेको छ ।