साहित्य नेपालको शाखा अध्यक्षमा पुन : पौडेल
Sunday, April 17th, 2022, 9:14 pm
Kalpristha
विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको अध्यक्षमा पुनः कल्पना पौडेल ‘जिज्ञासु’ चयन भएकी छिन् । काठमाडौंमा जारी नेपाल शाखाको चौथो राष्ट्रिय अधिवेशनबाट पौडेल चयन भएकी हुन् ।
यो दोस्रोपटक पौडेल अध्यक्षमा निर्वाचित भएकी हुन् ।
अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ को अध्यक्षता र नेपाल प्रज्ञाप्रतिष्ठान का उपकुलपति प्राडा जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा केशु पोख्रेल र सीता विष्ट कार्कीलाई चयन गरेको छ । त्यस्तै महासचिव अम्विका राई अनमोल, सचिव कृष्ण केसी, सह–सचिव गंगा आचार्य सापकोटा र कोषाध्यक्ष बसु श्रेष्ठ चयन भए ।
सदस्यहरुमा शुभद्रा धिमिरे, कल्पना चाम्लिङ्ग, दिपा नेपाल, विमला अधिकारी, रजनी शर्मा, ढुण्डिराज ढकाल, रमिता खतिवडा, यमनाथ सुवेदी गङ्गाराम ढकाल, लेक प्रसाद प्याकुरेल, मुना सिक्देल चयत भएका छन् ।
कार्यक्रममा विनेसाम नेपाल शाखाको कृति ‘साहित्य एक विधाअनेक’, सुनिता राई कन्दङ्वाको कृति ‘तिउरी’ विनेसाम लुम्बिनी प्रदेशको कृति ‘लुम्बिनी दर्पण’ को विमोचन तथा समीक्षा भयको थियो ।
सबै प्रदेशमा समिति गठन गर्ने : पौडेल
अध्यक्ष पौडेलले सबै प्रदेशमा समिति गठन गर्न आफू लाग्ने बताइन् । उनले यसअघिको कार्यकालमा लुम्बिनी प्रदेश र प्रदेश १ मा समिति गठन गरेकी थिइन् ।
‘नेपाली भाषी साहित्यलाई चिनाउन मैले धेरै काम गर्नुपर्ने छ । त्यसैले सबै प्रदेशमा समिति गठन गर्ने मेरो पहिलो काम हुनेछ र नेपाली भाषी साहित्यलाई चिनाउन विभिन्न कृति विभिन्न भाषामा विमाचन गर्ने कामलाई पनि प्राथमिकता दिने मेरो उद्देश्य छ,’ पौडेलले भनिन् ।