वैशाख ९ मा एसर्ईईको परीक्षा
Sunday, April 17th, 2022, 9:18 pm
Kalpristha
माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा यही वैशाख ९ गतेदेखि सुरु हुने भएको छ ।
एसईई परीक्षा नियन्त्रण बोर्डका अनुसार तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा दुई वर्ष पहिलाको जस्तै गरी एसईई सञ्चालन हुनेछ ।
यसपटक परीक्षामा पाँच लाख १४ हजार सात सय ६० जना सहभागी हुनेछन् । जसमा यस वर्ष नियमिततर्फ चार लाख ८८ हजार सात सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार चार सय ५४ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक रायमाझीले जनाए ।
ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन् । शैक्षिक शत्र २०७६ र २०७७ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।
प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको बोर्डले जनाएको छ ।
त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी सञ्चालन गर्ने÷गराउन व्यवस्था गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो ।
बोर्डले सूचना जारी गर्दै शैक्षिक वर्ष २०७८ सालमा रजिष्ट्रेसन भई कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनलाइन रजिष्ट्रेसन सम्बन्धी विवरण रुजु गर्ने कार्य भइरहेको जनाएको छ ।
विद्यार्थीले कक्षा ११ को परीक्षामा बोर्डद्वारा प्रदान गरिएको सिम्बोल नम्बर उल्लेख गरी परीक्षा दिनुपर्ने व्यवस्था रहेको र सो सम्बन्धमा कार्यविधिको परिच्छेद ४ को दफा ६ को (२) बमोजिम बोर्डले तोकेको मापदण्ड अनुरुप हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने व्यवस्था रहेकोले सोही अनुसार गर्न÷गराउन निर्देशन दिएको हो ।