मेयर आफूले पाउनुपर्ने कांग्रेसको दाबी
Tuesday, April 19th, 2022, 8:22 pm
Kalpristha
दाङ जिल्लाको घोराही उप–महानगरपालिकाको मेयरमा नेपाली कांगे्रसले आफूले पाउनुपर्ने दाबी प्रस्तुत गरेको छ । घोराही नगरसमितिले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरी गठबन्धनका नाममा २०७४ सालको स्थानीय तह निर्वाचनको मुख्य प्रतिस्पर्धी पार्टीलाई अलग्याउँदा परिणाम राम्रो नआउने चेतावनी समितिले दिएको छ ।
गठबन्धनका कारण यतिखेर घोराही माओवादीको भागमा परेको चर्चा चलेसँगै नेपाली कांग्रेसले त्यसो गरिए परिणाम सुखद नहुने बताएको छ ।
पत्रकार सम्मलेनमा कांग्रेस नगरसभापति तिलक रावतले जनभावना र अघिल्लो निर्वाचनको मत परिणामलाई मूल्यांकन गरेर स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्नुपर्ने माग गरे ।
गठबन्धनका कारण माओवादीका उम्मेदवारले मेयरको टिकट पाउने सम्भावना बढेसँगै कांग्रेसले कमजोर जनमत भएको पार्टीलाई टिकट दिँदा परिणाम राम्रो नआउने भन्दै सजग तुल्याएको हो ।
सभापति रावतले गठबन्धनका नाममा २ नम्बर क्षेत्रका स्थानीय तहहरूमा कांग्रेसलाई शून्य बनाउन नसकिने तर्क गरे । उनले अघिल्लो निर्वाचनको मत परिणाम र गठबन्धनले तयार गरेको उम्मेदवार चयनको मापदण्ड अनुसार घोराहीको नेतृत्वमा कांग्रेसको स्वाभाविक रूपमा हक रहेको दाबी गरे ।
रावतले भने,‘आफ्नो राम्रो जनमत भएको क्षेत्र कमजोर माओवादीलाई दिन सकिँदैन र त्यसो भए परिणाम राम्रो आउन सक्दैन ।’
कांग्रेस नगरसभापति रावतले गत स्थानीय तह निर्वाचनमा माओवादीबाट घोराहीको मेयर र उपमेयरमा भिडेका उम्मेदवारहरू जीवन गौतम र सीता चौधरीले माओवादी छोडिसकेको हुँदा स्वाभाविक रूपमा कांग्रेसले मेयर पाउनुपर्ने दाबी प्रस्तुत गरे ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य जानका केसी, नेपाली कांग्रेसका जिल्ला सदस्यहरू बद्री खड्का, खेमराज विश्वकर्मा, नेपाली कांग्रेस क्षेत्र नं. २ का सहसचिव रमेश पाण्डेयलगायतको उपस्थिति थियो ।
२०७४ सालको निर्वाचनमा एमालेका नरुलाल चौधरीले २२ हजार ३ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४ सय ८४ र नेकपा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए ।
अहिले पनि चौधरी र डाँगीलाई दुवै पार्टीले मेयरका लागि सिफारिस गरिसकेका छन् । तर, टिकट पाउने सम्भावना क्षीण बनेपछि गौतमले भने सोमबार मात्रै माओवादी पार्टी त्यागेको घोषणा गरिसकेका छन् ।
दाङ क्षेत्र नं. २ माओवादी नेता कृष्णबहादुर महराको निर्वाचन क्षेत्र हो । उनकै अडानले घोराही माओवादीको भागमा परेको हल्लाहरू व्याप्त बनेसँगै कांग्रेसले टिकट आफूले नै पाउनुपर्ने दाबी गरेको हो ।
त्यसैगरी नेपाली कांग्रेस बुटवल नगर समितिले मेयर पदमा नगर सभापति खेलराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेकोप्रति कांग्रेसभित्र असन्तुष्टी सार्वजनिक भएको छ ।
कांग्रेसको नगर समितिले मेयर पदमा खेलराज पाण्डेलाई सर्वसम्मत उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त सिफारिसको विरोधमा कांग्रेसका १३ जना नेताले विज्ञप्ति जारी गर्दै सिफारिस वदर गर्न लुम्बिनी प्रदेश समिति समक्ष माग गरेका छन् ।
साथै नेपाली कांग्रेस, बाँकेको आन्तरिक विवाद बढेपछि विवाद समाधान गर्न कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेललाई बाँकेमा खटाइएको छ । जिल्ला कार्य समितिमा भएको मनोनयनको विवादका विषयमा एक पक्षले केन्द्रमा उजुरी दिएपछि विवाद सुल्झाउन कँडेल बुधबार नेपालगन्ज आउने भएका हुन् ।
बाँके जिल्ला सभापति नारायणप्रसाद गौंडेलले कार्यसमितिमा गरेको मनोनयन विधान विपरित भएको आरोप सहित केन्द्रमा उजुरी परेको कांग्रेस श्रोतले बताएको छ ।