महायज्ञबाट रकम कम उठेपछि भवन बनाउन कठिन
Tuesday, April 19th, 2022, 8:43 pm
Kalpristha
सडकमुक्त मानव बनाउने अभियानमा वृद्ध–वृद्धा, अनाथ बालबालिका, अपांग तथा असायको घर बन्दै आएको नीलसागर सेवाश्रम विगत तीन वर्षदेखि आफ्नै भवन बनाउन जुटिरहेको छ ।
नीलसागरले उक्त भवन बनाउनका लागि नेपालगन्जमा धार्मिक महामहोत्सव आयोजना गरेको थियो । गत चैत २७ गतेदेखि बैशाख ४ गतेसम्म नेपालगन्जमा रहेको रामलिला मैदानमा नीलसागरले धार्मिक महोत्सव आयोजना गरेको थियो ।
तर महोत्सवबाट रकम सोचेअनुरुप उठन नसकेपछि नीलासागरलाई फेरी भवन बनाउन कठिन भएको छ ।
नीलसागरले मंगलबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवको हरहिसाव सार्वजनिक गरेको छ । नीलसागरले सार्वजनिक गरेको विवरणअनुसार महोत्सवबाट ३२ लाख ८६ हजार तीन सय पाँच रुपैयाँ उठेको छ । तर महोत्सव आयोजना गर्न नै २१ लाख १४ हजार ५३ रुपैयाँ लागेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै नीलसागर सेवा आश्रमका उपाध्यक्ष अमन नीलसागरले महोत्सवमा २२ लाख ४१ हजार ५८ रुपैयाँ अनुदानबापत उठेको र तीन लाख ४६ हजार सात सय ४७ रुपैयाँ उठाउन बाँकी रहेको बताए । साथै महोत्सवको समयमा ६ लाख ९८ हजार पाँच सय श्रीयन्त्र बिक्रीबापत उठेको थियो ।
हाल महोत्सवबाट निलसागर भवन बनाउनका लागि आठ लाख २५ हजार पाँच सय पाँच रुपैयाँ बचेको छ । तर सो रकम भवन बनाउनका लागि हात्तिको मुखमा जिरा बराबर हो ।
नीलसागरले निर्माण गर्न लागेको कैलश भवनको कूल रकम पाँच करोड रहेको छ । निर्माणाधीन भवनमा तीन तले र ३० कोठाको रहने नीलसागर सेवा आश्रमकी अध्यक्ष सरिता नीलसागरले बताइन् ।
अध्यक्ष सरिताले भवन बनाउनका लागि केही व्यक्तिहरु एवम् खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिकाले मौखिक रुपमा कोठा निर्माणमा सहयोग गर्ने समेत बताएको बताइन् ।
महोत्सवमा कम रकम उठ्नुको कारण के होला भन्ने प्रश्नमा सरिता भन्छिन्, ‘हामीले महोत्सव गलत समयमा आयोजना गरेको जस्तो लाग्यो । किनभने पहिलो त प्रचण्ड गर्मीले महोत्सवलाई प्रभाव पार्यो । अर्को निर्वाचनको माहोलले गर्दा धेरै व्यक्तिहरु महोत्सवसँग आवद्ध हुन सक्नु भएन र अर्को महत्वपूर्ण पाटो भनेको कोरोनाले नेपालीहरुलाई ठूलो आर्थिक क्षति गरेको पायो । यहासम्मकी ठूला ठूला उद्योगी, व्यवसायीहरुले आफ्नो नियमित किस्तासमेत तिर्न सक्नु भएको रहेनछ ।’
एक वर्ष अगाडि कालपृष्ठ कर्मीले उक्त निर्माणाधीन भवनको रिपोर्टिङ गर्ने क्रममा उक्त भवनको जग हालिएको थियो भने वरिपरी केही मात्रामा वालहरु लगाइएको थियो । र एक वर्षपछि उक्त भवनको एकभाग ढलानमात्र हुन सकेको छ ।
नेपालगन्जमा रहेको नीलसागर सेवा आश्रममा मात्रै हाल १ सय ८० जना व्यक्तिहरु रहेका छन् । साथै धार्मिक महोत्सवका क्रममा नीलसागरले १२ जना वृद्धवृद्धालाई उद्धारसमेत गरेर आश्रममा ल्याएको छ ।
सबै आमाबुवाको व्यवस्थापनका लागि नीलसागरले मासिक मात्रै ५० हजार रुपैयाँ भाडा तिरेर घरको व्यवस्थापन गरेको छ । हाल नीलसागर रहेको उक्त भवन वृद्धवृद्धाका लागि भने उपयुक्त नभएको सरिता बताउँछिन् । जसका कारण वृद्धवृद्धालाई लक्षित गरेर नीलसागरले भवन बनाउन लागि परेको हो ।
त्यस्तै नीलसागर सेवा आश्रम रहेको बाँके, बर्दिया, दाङ, पाल्पा, पोखरालगायतका स्थानमा ६ सय ३० जना अभिभावकविहीन सडक आश्रित व्यक्तिहरुको हेरचाह गरिरहेको छ ।