भोलीबाट महिला कलेज संचालन हुने
Tuesday, April 19th, 2022, 8:47 pm
Kalpristha
शिक्षामा नेपालगन्ज उप–महानगरपालिकाको चासो कत्तिको छ भन्ने उदाहरण जनप्रतिनिधि आइसकेपछि नेपालगन्ज नगरभित्र बनेका छात्रा विद्यालय र कलेजले प्रष्ट पार्छ । जसमा नेपालगन्जमा रहेको मंगलप्रसाद विद्यालय प्रांगणमा निर्माण भएको मंगलप्रसाद महिला कलेजको आज उद्घाटन हुँदैछ ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर संचालन गर्न सुरु गरिएको उक्त कलेजको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राचार्य डाक्टर यूवराज कोइरालाले गर्नेछन् ।
विशेषगरी मुस्लिम, मधेसी तथा पिछडिएका समुदायका छात्राहरुलाई उच्चशिक्षा अध्यापनका लागि मंगलप्रसाद महिला कलेजको स्थापना गरिएको हो ।
नेपालगन्ज उप–महानगरपालिका उप–मेयर उमा थापामगर कुनै पनि समुदायका छात्राको पहुँच उच्चशिक्षा हुनु पर्ने बताउँछिन् । उनले भनिन्,‘नेपालगन्जमा मुस्लिम, दलित समुदायका धेरै छात्राहरु उच्च शिक्षाबाट वञ्चित छन् । अझै पनि केही समुदायमा उच्चशिक्षाका लागि छात्राहरुलाई पढ्न खुलेर बाहिर नपठाउने गरिन्छ । त्यसैले उनीहरुलाई लक्षित गरेर यो कलेजको स्थापना गरिएको हो ।’
कलेजका प्रमुख रविन्द्र कुमार कर्ण कक्षा १२ पछिको अध्यापनका लागि पढ्न नपठाउने समुदाय नेपालगन्ज रहेका कारण उनीहरुलाई यस कलेजले समेट्न सक्ने बताउँछन् । उक्त कलेजलाई प्राविधिक कलेजका रुपमा विकसित गर्दै लैजाने र सहुलियतदरमा छात्राहरुलाई उच्च शिक्षा दिने उद्देश्य रहेको कर्णले बताए ।
कर्णका अनुसार उक्त कलेजमा बिबिए, बिबिएस, विआइटि, बिसिए, पाँच वर्षे बिएलएलबि तथा चार वर्षे बिए अध्यापन गराइने छ ।
निर्माण सम्पन्न भएको छात्रा कलेज तीन तले रहेको छ भने कलेजमा ४० वटा कोठाहरु रहेका छन् । त्यस्तै आधुनिक शौचालय, जेनेटरलगायतको सुविधा कलेजमा रहेको छ । साथै कलेजमा टाढाबाट अध्यापन गर्न आउने छात्राका लागि होस्टेलको पनि व्यवस्था गर्ने योजना रहेको प्रमुख कर्णले बताए ।
उक्त कलेज ६ करोड लागतमा बनेको हो । सुरुमा सात करोड ५० लाख रुपैयाँको स्टिमेट भएता पनि स्टिमेटभन्दा कम रकममा कलेजको निर्माण कार्य सम्पनन भएको नेपालन्ज उप–महानगरपालिकाका आर्किटेक ईन्जिनियर निदेसकुमार शर्माले बताए ।
शर्मामा अनुसारभवन भूकम्प प्रतिरोधात्मक एवम् आधुनिक बनेको बताउँछन् ।