नेपालगन्ज गल्फ कोर्ष निर्माण गर्न अध्ययन सुरु
Wednesday, April 20th, 2022, 11:16 am
Kalpristha
अध्ययन टोलीका अनुसार नेपालगन्जमा गल्फ कोर्ष निर्माण गर्न सुरुआतमा करिब ५० देखि ६० लाख बजेट आवश्यक पर्नेछ । जहाँ ११ होल कोर्ष निर्माण गर्न सकिने टोलीले बताएको छ । नेपालगन्जमा सुरुआती चरणमा आर्मीका उच्च अधिकारीले व्यक्तिगतरुपमा गल्फ खेल्नको लागि राँझामा सामान्य गल्फ कोर्ष बनाएका थिए ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ वैशाख
नेपालगन्जमा गल्फ कोर्ष निर्माण गर्ने बारेमा विज्ञ टोलीले सम्भाव्यता अध्ययन गरेर फर्किएको छ । नेपालगन्ज राझास्थित नेपाली सेनाको श्री नम्बर ४ बाहिनी अड्डाले प्रयोग गर्दै आएको जमिनमा गल्फ कोर्ष, फुटबल ट्रेनिङ सेन्टर, टेनिस कोर्टलगायतका खेलकुद संरचना निर्माणको बारेमा विज्ञ टोलीले प्रारम्भिकरुपमा अध्ययन गरेर फर्किएको छ ।
करिब २६ विगाहा जमिनमा आर्मीले अभ्यासको लागि प्रयोग गर्दै आएको जमिनमा गल्फलगायत खेलकुदको अन्य संरचना निर्माणको बारेमा छलफल भैरहेको छ ।
नेपालगन्जमास्तरीय गल्फ कोर्षलाई मुख्य प्राथमिकतामा राखेर संरचना निर्माण गर्ने बारेमा मंगलबार फिल्ड अध्ययन गरिएको हो ।
नेपाल गल्फ एशोसियसनका अध्यक्ष टासी घलेले नेपालगन्जको गल्फ कोर्ष सोचेको भन्दा धेरै राम्रो बन्न सक्ने बताए । उनले भने, ‘संघले सातौं प्रदेशमा एउट गल्फ कोर्ष निर्माण गर्ने योजनाका साथ अगाडि बढिरहेको छ । नेपालगन्ज गल्फ कोर्षको सुरुआत गर्नमा रबिन्द्रमान श्रेष्ठले ठूलो भूमिका निर्वाह गर्नु भएको छ ।
हामीले आधिकारिकरुपमा संघको प्रतिनिधिका रुपमा कोर्ष निर्माणमा उहाँलाई जिम्मेवारी दिएका छौं । कोर्ष निर्माण गर्न सहज छैन । बजेट धेरै लाग्छ । त्यसका लागि नगरपालिका, नेपाली सेना, स्थानीयको सहयोग भए हामी एक वर्षमा कोर्ष निर्माण गर्न सक्छौं भन्ने लाग्छ ।’
अध्ययन टोलीका अनुसार नेपालगन्जमा गल्फ कोर्ष निर्माण गर्न सुरुआतमा करिब ५० देखि ६० लाख बजेट आवश्यक पर्नेछ । जहाँ ११ होल कोर्ष निर्माण गर्न सकिने टोलीले बताएको छ । नेपालगन्जमा सुरुआती चरणमा आर्मीका उच्च अधिकारीले व्यक्तिगतरुपमा गल्फ खेल्नको लागि राझाँमा सामान्य गल्फ कोर्ष बनाएका थिए ।
तत्कालीन बाहिनी पति एवम् नेपाली सेनाका सहायक रथी सुरेश बानियाँले नेपालगन्जको राझाँमा कोर्ष निर्माण गरेका थिए । त्यसको जानकारी पाएपछि नेपालगन्ज उप–महानगरपालिकाले गल्फ कोर्ष निर्माणका लागि केहि बजेट दिएको थियो । त्यसले तारबार गर्ने काम भएको थियो ।
प्रोफेसनल गल्फ क्लबका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, सहायक रथी बानियाँ, नेपालगन्जका मेयर डा. धवल समशेर राणाले सुरुआतमा कोर्ष निर्माणको बारेमा योजना बनाएका थिए ।
गल्फ कोर्षले नेपालगन्जको आर्थिक र पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने बताउँछन् गल्फ खेलाडीसमेत रहेका रबिन्द्रमान श्रेष्ठ । श्रेष्ठ भन्छन, ‘विकसित सहरमा एक÷दुईवटा गल्फ कोर्ष भएकै हुन्छ । यसले हरियालीलाई बढाउँछ । वातावरणीय रुपमा यसको धेरै फाइदा छ । विपतको समयमा पनि यसले ठुलो सहयोग गर्छ भन्ने हामीले महशुस गरिसकेका छौं ।’ नेपालगन्ज व्यवसायिक पहिचान बनाएर अगाडि बढिरहेको सहर भएकोले यसको विकासमा गल्फले थप सहयोग गर्ने श्रेष्ठको भनाइ छ ।
गल्फ कोर्ष निर्माणको लागि अब दोस्रो चरणको काम सुरु भएको बताउँछन् उनी । सुरुआतमा जमिनको बारेमा अध्ययन गरेपछि कोर्ष निर्माणको बारेमा अध्ययन भैरहेको छ । आर्मीले प्रयोग गरिरहेको उक्त पशुपति सामुदायिक वनको हो । अब नेपाली सेना, नेपालगन्ज उप–महानगरपालिका, सामुदायिक वन, नेपाल गल्फ संघले कोर्ष निर्माणमा सहकार्य गरेर अगाडि बढने योजना बनेको छ । जहाँ आर्थिक बजेट जुटाउन स्थानीय सरकार र संघले विशेष पहल सुरु गरिसकेको छ । नेपालगन्जका मेयर धवलले कोर्ष निर्माणमा नगरले आगामी दिनमा सहयोग गर्ने बताएका छन् ।
सुरुआतमा नगरपालिकाको सहयोगमा एउटा स्थानीय प्रतियोगिता पनि गर्ने तयारी भएको छ । त्यसपछि १२ खरी अनलाइनले गर्ने कर्पोरेट गल्फ पनि नेपालगन्ज गर्ने बारेमा अध्ययन गरिएको छ । नेपालगन्जमा गल्फ कोर्ष समयमा बने १२ खरी कर्पोरेट गल्फ गर्न सकिने बताउँछन् १२ खरीका प्रधान सम्पादक प्रतिक प्रधान ।
नेपाली सेनाका सहायक रथी बानियाँले गल्फमात्र नभएर खेलकुदको विकासका निम्ति सहयोग गर्न सेनासँधै अगाडि रहने बताए । उनले भने, ‘खेलकुद सेनाको एउटा पार्ट अफ लाइफ हो । त्यसको विकासमा हामी सधै सकारात्मक छौं । कोर्ष मैले सामान्य रुपमा खेल्नको लागि बनाएको थियो । तर आज यसमा सम्बन्धित निकायले चासो दिएर काम अगाडि बढ्दैछ । यो खुसीको कुरा हो ।’ गल्फले नेपालगन्ज सहरलाई चिनाउने उनको भनाइ छ ।
प्रोफेसनल गल्फका महासचिवले नेपालगन्ज गल्फ कोर्ष निर्माण गर्नको लागि जमिन उपयुक्त रहेको बताउँछन् । त्यसमा लगानीको मात्र खाँचो रहेको उनले बताए । नेपालगन्जमा गल्फ कोर्ष निर्माण भारतीय खेलाडीलाई नेपालमा बोलाउने सम्भावना बढने उनको भनाइ थियो ।