भागबण्डामा कसको भाग कहाँ ? (सहमति पत्रसहित)
Wednesday, April 20th, 2022, 5:37 pm
Kalpristha
बुधबार बसेको पाँच दलीय सत्ता गठबन्धनबीचको बैठकले नेपालगन्ज उप–महानगरपालिकाको प्रमुख नेपाली कांग्रेसको भाग सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकबाट नेपालगन्जको उप–प्रमुख जनता समाजवादी पार्टी(जसपा) लाई दिने लिखित सहमति भएको हो ।
सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा मिलाएको छ ।
भागबण्डाअनुसार नेपाली कांग्रेसको तर्फबाट महानगरपालिकाहरुमा काठमाडौं, ललितपुर, विराटनगरमा प्रमुख पदमा उम्मेदवारी दिने सहमति भएको छ भने उप–प्रमुखमा उम्मेदवारी दिने महानगरपालिकाहरुमा विरगंज, भरतपुर र पोखरा रहेका छन् ।
त्यस्तै प्रमुख पदका लागि उप–महानगरपालिकाहरुमा धरान, इटहरी, कलैया, बुटवल, तुलसिपुर र धनगढीमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिने निर्णय भएको छ । साथै उप–प्रमुख पदमा उम्मेदवारी दिने उप–महानगरपालिकाहरुमा जितपुर सिमरा, घोराही र हेटौडा रहेका छन् ।
.
नेकपा माओवादी केन्द्रका तर्फबाट भरतपुर महानगरपालिकामा उम्मेदवारी दिने निर्णय भएको छ । त्यस्तै महानगरपालिकाका लागि उप–प्रमुख पदमा उम्मेदवारी दिन ललितपुरमा सहमत भएको छ ।
प्रमुख पदमा उप–महानगरपालिकाहरुमा जितपुर सिमरा र घोराहीमा माओवादी केन्द्रले उम्मेदवारी दिनेछ । साथै उप–प्रमुख पदमा माओवादीले धरान र धनगढी उप–महानगरपालिकामा उम्मेदवारी दिनेछ ।
नेकपा(एकीकृत समाजवादी) का तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिने महानगरपालिकामा पोखरा रहेको छ । त्यस्तै नेकपा एसले उप–प्रमुख पदमा काठमाडौं महानगरपालिका र प्रमुख पदमा हेटौडा उप–महानगरपालिकामा उम्मेदवारी दिने सहमति भएको हो ।
साथै नेकपा एसले इटहरी, बुटवल र तुलसिपुर उप–महानगरपाकिामा उप–प्रमुख पदमा उम्मेदवारी दिने सहमति भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) ले भने विरगंज महानगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिने सहमति भएको छ । साथै जसपाले उप–प्रमुख पदमा विराटनगर महानरपालिका र जनकपुर उप–महानगरपालिकामा प्रमुख पदमा उम्मेदवारी दिने सहमति भएको छ । र सजपाले कलैया उप–महानगरपालिकामा उप–प्रमुखको उम्मेदवारी दिनेछ ।
.