पश्चिम नेपालको पहिलो महिला कलेजको उद्घाटन
Wednesday, April 20th, 2022, 5:53 pm
Kalpristha
पश्चिम नेपाल (साविक मध्य र सुदूरपश्चिम) को एकमात्र छात्रा कलेज मंगलप्रसाद महिला कलेजको बुधबार उद्घाटन गरिएको छ । नेपालगन्ज उप–महानगरपालिकाले निर्माण गरेको उक्त कलेजको पूर्वाञ्चल विश्वविद्यालयका उपकुपति प्रा.डा. यादव राज कोइरालाले उद्घाटन गरे ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, प्रदेश सांसद आइपी खरेललागयतको उपस्थितिमा कोइरालाले कलेको उद्घाटन गरेका हुन् ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर संचालन गर्न सुरु गरिएको उक्त कलेजमा विशेषगरी मुस्लिम, मधेसी तथा पिछडिएका समुदायका छात्राहरुलाई उच्चशिक्षा अध्यापनका लागि स्थापना गरिएको हो ।
कार्यक्रममा कोइरालाले सम्बन्धनका विषयमा बोल्दै पूर्वाञ्चल विश्वविद्यालयले निजी क्षेत्रबाट सञ्चालित मात्रै नभएर समुदायस्तरबाट सञ्चालित कलेजलाई पनि सम्बन्धन दिनका लागि प्राथमिकता दिने गरेको बताए ।
नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा.राणाले नेपालगन्जमा मधेसी र मुस्लिम समुदायको बाक्लो बसोबास रहेका कारण छात्रा विद्यालय र कलेजको आवश्यकता महसुश गरिएको बताए । कलेज आफैंमा आत्मनिर्भर नभएसम्मका लागि नगरबाट आवश्यक सबै सहयोग प्राप्त हुने उनले बताए । नेपालगन्जमा छात्रा विद्यालयपछि महिला कलेज निर्माण गरिएको हो ।
नेपालगन्ज उप–महानगरपालिका उप–मेयर उमा थापामगर कुनै पनि समुदायका छात्राको पहुँच उच्चशिक्षा हुनु पर्ने बताउँछिन् । उनले भनिन्,‘नेपालगन्जमा मुस्लिम, दलित समुदायका धेरै छात्राहरु उच्च शिक्षाबाट वञ्चित छन् । अझै पनि केही समुदायमा उच्चशिक्षाका लागि छात्राहरुलाई पढ्न खुलेर बाहिर नपठाउने गरिन्छ । त्यसैले उनीहरुलाई लक्षित गरेर यो कलेजको स्थापना गरिएको हो ।’
कलेजका प्रमुख रविन्द्र कुमार कर्ण नेपालगन्जमा रहेको विभिन्न समुदायले उच्चशिक्षाका लागि अझै पनि छात्राहरुलाई पढ्न नपठाउने गरेको बताए । कक्षा १२ पछिको अध्यापनका लागि पढ्न नपठाउने समुदाय नेपालगन्ज रहेका कारण उनीहरुलाई यस कलेजले समेट्न सक्ने कर्ण बताउँछन् । उक्त कलेजलाई प्राविधिक कलेजका रुपमा विकसित गर्दै लैजाने र सहुलियतदरमा छात्राहरुलाई उच्च शिक्षा दिने उद्देश्य रहेको कर्णले बताए ।
कर्णका अनुसार उक्त कलेजमा बिबिए, बिबिएस, विआइटि, बिसिए, पाँच वर्षे बिएलएलबि तथा चार वर्षे बिए अध्यापन गराइने छ ।
.
कालपृष्ठकर्मीसँग कुरा गर्दै कर्णले नेपालगन्जमा रहेका अन्य कलेजभन्दा सस्तो शुल्कमा छात्राहरुलाई अध्यापन गराइने बताए । उनी भन्छन्, ‘नेपालगन्जमा रहेका अन्य कलेजभन्दा सस्तो शुल्कमा पढाउने वातावरण हामीले उपलब्ध गराउँछौं । त्यस्ते अर्को कुरा विभिन्न विपन्न समुदायका छात्रालाई छात्रवृत्तिको पनि व्यवस्था गर्ने योजना हाम्रो रहेको छ ।
कलेजमा अध्यापनका लागि महिलाहरु कत्तिको सम्पर्कमा आएका छन् भन्ने प्रश्नमा कर्ण भन्छन् ‘हामीले आज (बुधबार) कलेजको उद्घाटन गर्यो । तर कलेजको उद्घान गर्नुभन्दा पहिला नै हाम्रो सम्पर्कमा महिलाहरु आई सक्नु भएको छ । हिजो (मंगलबार) मात्रै पनि केही महिलाहरुले हामीलाई सम्पर्क गर्नु भएको छ ।’
महिला कलेजले पूर्वाञ्चल विश्वविद्यालयलाई सम्बन्धन प्राप्तलाई निवेदन दिई सकेको भएता पनि स्वीकृति आउन बाँकी नै रहेको छ । कर्णका अनुसार उक्त स्वीकृति आउने एक महिना लाग्ने र सो पश्चान अध्यापनको काम अगाडि बढाइने उनी बताउँछन् ।
निर्माण सम्पन्न भएको महिला कलेजको भवन मंगलप्रसाद माध्यामिक विद्यालयको प्रांगणमा रहेको छ । आधुनिक शौचालय, जेनेटरलगायको सुविधा सम्पन्न कलेज तीन तले रहेको छ भने कलेजमा ४० वटा कोठाहरु रहेका छन् । साथै कलेजमा टाढाबाट अध्यापन गर्न आउने छात्राका लागि होस्टेलको पनि व्यवस्था गर्ने योजना रहेको प्रमुख कर्णले बताए ।
उक्त कलेज भौतिक पूर्वाधार ६ करोड लागतमा बनेको हो । सुरुमा सात करोड ५० लाख रुपैयाँको स्टिमेट भएता पनि स्टिमेटभन्दा कम रकममा कलेजको निर्माण कार्य सम्पनन भएको नेपालन्ज उप–महानगरपालिकाका आर्किटेक ईन्जिनियर निदेसकुमार शर्माले बताए ।
शर्मामा अनुसारभवन भूकम्प प्रतिरोधात्मक एवम् आधुनिक बनेको बताउँछन् ।
नेपालगञ्ज उप–महानगरपालिकाले विज्ञ टोली बनाएर दुई वर्षसम्म विस्तृत अध्ययन गरेर महिला कलेज सञ्चालनका लागि अघि बढेको हो ।