कांग्रेसलाई जिताउन सक्छु भन्ने दृढ संकल्प छः रबिन्द्रमान श्रेष्ठ
Thursday, April 21st, 2022, 1:08 pm
Kalpristha
अबको एक दुइ दिनमा नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा कसलाई बनाउने भन्ने निर्णय हुँदैछ । मेयर बन्ने दौडमा थुपैं छन । नेपालगन्जको मेयरमा दाबी गर्ने मध्ये एक नेता हुन रबिन्द्रमान श्रेष्ठ । फुटबलका पुर्व राष्ट्रिय खेलाडी रबिन्द्रमान नेपालको सफल व्यवसायीमा पर्छन । उनले नेपालका उत्कृष्ट कम्पनीहरुको नेतृत्व सम्हालेको अनुभव छ । गल्फको कुशल खेलाडी समेत रहेका रबिन्द्रमान नेपाल प्रोफेशनल गल्फ एशोसियसनका अध्यक्ष हुन । स्थानीय निर्वाचन नजिकिदै गर्दा राजनितिक नेतृत्वको दौडमा रहेका रबिन्द्रमान श्रेष्ठसँग गरिएको कालपृष्ठ संवाद ।
नेपालगन्जको मेयर बन्ने दौडमा तपाईको नाम सिफारिस भएको छ, कस्तो अनुभूति गर्नु भएको छ ?
एकदमै उत्साहित छु, पार्टीका सबै अग्रज एवम् सवै साथीहरु प्रति नाम सिफारिश गरिदिनु भएकोमा कृतज्ञ छु ।
आकाक्षीहरु त धेरै छन?
म प्रतिस्पर्धाबाट कहिले पनि नआत्तिने मान्छे हुँ, यहाँ त जम्मा १४ आंकाक्षीहरु हुनु हुन्छ । म दश हजारले प्रतिस्पर्धा गरेको परीक्षमा म नम्बर १ भएको छु । देशको पाँच उत्कृष्ट सिइओ पनि भएकै हुँ । मेरो कोशिस जारी छ ।
मेयरमा तपाई नै किन?
मलाई लाग्छ म मेयरका लागि योग्य छु । अर्थशास्तमा मेरो राम्रो ज्ञान छ । टिम विकासमा सफल अनुभव छ । नेपालको सरकारी तन्त्रको राम्रो ज्ञान छ । प्रविधिसँगै समयको आवश्यकतालाई मैले बुझेको छ । युवासँग जोडिएर काम गर्ने बानी छ मेरो ।
नगरका समस्यासँग र कस्ता योजना आवश्यक छन, त्यसलाई कसरी कार्यान्वय गर्ने भन्नेमा मलाई राम्ररी थाहा छ । शारदा निमावि, जुद्ध, नारायण हाइस्कुल, शंकरदेवकलेज, त्रिवि, डेनमार्कसम्मको शिक्षाले मलाई समाजका समस्यालाई कसरी दिर्घकालिन रुपमा समाधान गर्ने भन्ने ज्ञान छ । नेपालमा धेरै संस्थाहरुको सफल नेतृत्व पनि गरेको छु । यीनै आधार हुन मेयरको प्रतिस्पर्धामा आउनु ।
पढाई, शिक्षाको कुरा गर्नु भयो, यसले मात्र सिट पाउने हो र?
नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रनिनिधि हुँ । केन्द्रीय सदस्यको पनि आंकाक्षी थिए । मेरो परिवारको पृष्ठिभुमी धेरैलाई छ । २० वर्ष देखी सक्रिय भएर पार्टीलाई सहयोग गरिरहेको छु ।
पार्टीले दिएको सम्पुर्ण जिम्मेवारी कुशलता पुर्वक पुरा गरेको छु ।
२०३३ साल देखि आजको दिन सम्म नेपाली कांग्रेसलाई निरन्तर सहयोग गर्दै आएको छु । मेरो दाबी आदरणीय नेताज्यु हरुमा निवेदन गरिसकेको छु, सकारात्मक आश्वासन पाएको छु । म सिट पाउनेमा विश्वस्त छु । कांग्रेसलाई जिताउन सक्छु भन्ने दृढ संकल्प छ, पार्टीका साथीहरुको सहकार्यमा नेपाली कांग्रेसले जित्ने रणनिति तयार गरेको छु ।
टिकट पाउन शिर्ष नेतालाई रिझाउनु पर्ने एउटा परम्परा छ, त्यसको बारेमा के भन्नु हुन्छ ?
पार्टीको विधि र पद्धतीलाई मान्ने मान्छे हुँ म । पैसा खर्च गरेर, आर्थिक चलखेल गरेर म टिकट लिदैन । पार्टीले मुल्याकन गरेर अवसर दिएपछि काम गर्ने हो । पैंसाले टिकट किन्ने कुरामा म सहमत छैन । त्यसको बिरोधी हुँ म ।