गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु
Thursday, April 21st, 2022, 9:07 pm
Kalpristha
नेपालको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बिहीबारदेखि उडान सुरु भएको छ । नेपाली वायु सेवाको इतिहासमा काठमाडौं बाहिर अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग संचालनमा आएको यो७४ वर्ष पछि पहिलो पटक हो।
विमानस्थलमा विमान उडानका लागि पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याएको हो ।अब विदेशी जहाजले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आकस्मिक कारणमा भैरहवा विमानस्थलमा अवतरण गर्न सक्नेछन्।
आगामी जेठ २ गते बुद्ध जयन्तिका दिनदेखि उक्त विमानस्थल संचालनमा आउने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
आन्तरिकतर्फ यती एयरलाइन्सको पहिलो उडान
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आन्तरिक एयरलाइन्सले उडान सुरु गरिसकेका छन्। नयाँ धावनमार्गबाट पहिलो उडानको रुपमा निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले उडान भरेको विमानस्थलले जनाएको छ।
बिहान ७ः४५ बजे पहिलो उडान भरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ। गौतमबुद्ध विमानस्थल रूग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो। राष्ट्रिय गौरवका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूआतमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापर्बाहीले रोकिएको थियो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको हो ।
एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ ।
बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो ।