बाँकेको सत्ता गठबन्धन संकटमा
Thursday, April 21st, 2022, 9:11 pm
Kalpristha
सत्ता गठबन्धन दलहरुबिच सहकार्य गरेर चुनावमा जाने सहमति भैरहेको बेला वैश्यको राप्रपा प्रवेशले गठबन्धनलाई ठुलो धक्का पुग्ने आंकलन गरिएको छ । यसैगरी सत्तासाझेदार जनता समाजवादी पार्टी(जसपा)ले पनि बाँकेमा एक्लै चुनावमा लड्ने निर्णय गरिसकेको छ ।
कमल खत्री
नेपालगन्ज, ८ वैशाख
नेपालगन्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नन्दलाल वैश्य राप्रपामा प्रवेश गरेपछि नेपालगन्ज नगरको राजनितिक शक्ति सन्तुलनले नयाँ मोड लिएको छ । सत्ता गठबन्धन दलहरुबिच सहकार्य गरेर चुनावमा जाने सहमति भैरहेको बेला वैश्यको राप्रपा प्रवेशले गठबन्धनलाई धक्का पुग्ने आंकलन गरिएको छ । यसैगरी सत्तासाझेदार जनता समाजवादी पार्टी(जसपा)ले पनि बाँकेमा एक्लै चुनावमा जाने निर्णय गरिसकेको छ । बाँकेमा पछिल्लो समय भएका राजनितिक घटनाक्रमले गठबन्धनलाई संकटमा पार्ने संकेत गरेको छ ।
नेपालगन्जका व्यापारी नेता नन्दलाल वैश्य बिहिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । उनको प्रवेशले नेपालगन्ज नगरमा नयाँ तरंग सृजना गरेको छ । जसले चुनावको समिकरणलाई असर पार्ने सम्भावना देखिएको छ ।
नेकपा माओवादीबाट चुनाव लड्दै नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष बनेका वैश्य यसपटकको स्थानीय विर्नाचनमा नेपालगन्जको मेयरमा दाबेदारका रुपमा देखिएका थिए । तर सत्ता गठबन्धन दलहरुबिच मिलेर चुनावमा प्रतिस्पर्धा गर्ने रणनिति बनेपछि उनी राप्रपामा प्रवेश गरेका हुन् । गठबन्धन अनुसार नेपालगन्जको मेयरमा कांग्रेस र उपमेयरमा जसपाले पाएको छ । नेपालगन्ज नगरमा माओवादीले मेयर र उपमेयर दुबै पद पाएको छैन ।
मेयरमा माओवादीको भागमा नपरेपछि बैश्य राप्रपमा प्रवेश गरेका हुन् । उनलाई राप्रपाले नेपालगन्जको मेयर र बिन्दु चर्तीमगरलाई उपमेयरको उमेदवार बनाउने सम्भावना बढी छ ।
बिहिबार बाँके जिल्ला पार्टी कार्यालयमा राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगरपालिका मेयर डा. धवलशमसेर राणा, सह–महामन्त्री ऋषिराज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र न्यौपाने, महिला नेतृ विन्दुचर्ती मगर लगायतले वैश्यलाई स्वागत गरेका थिए । तर पार्टीले औपचारिक रुपमा कार्यक्रम गरेर वैश्यलाई पार्टीमा प्रवेश गराउने कार्यक्रमको तयारी गरिरहेको छ ।
वैश्यले मेयरको टिकटको लागि राप्रपामा प्रवेश गरेको आरोप लागेपनि त्यसलाई राप्रपाका महामन्त्री देवकोटाले खण्डन गरेका छन् । उनले भने,‘नन्दलालले पार्टी प्रवेश गर्दा कुनै पदमा बार्गेनिङ गर्नु भएको छैन । उहाँको परिवारसबैं राप्रपा छ । वैश्यको भाई हाम्रो नगर कमिटीको नेता हुन् । आफनो धार्मिक आस्था र सिद्धान्त मिल्ने भएकोले उहाँ राप्रपामा प्रवेश गर्नु भएको हो ।’
राप्रपा नेपालगन्जमा आफनो विरासत जोगाउने लक्ष्यमा छ । विरासत जोगाउने भनेपनि मेयरमा राप्रपाले सशक्त उमेदवार पाएको थिएन । त्यसको खोजीमा रहेका मेयर डा. राणाका लागि वैश्यको पार्टी प्रवेश फाइदाजनक हुने देखिएको छ ।
माओवादी छोडेर राप्रपा लागेका वैश्य र गठबन्धन नमान्ने निर्णय गरेको बाँके जसपाको निर्णय सत्तागठबन्धन दलहरुका लागि चुनौतिका रुपमा देखिएको छ ।
जसपा बाँकेले गठबन्धन नमान्ने
जनता समाजवादी पार्टी(जसपा)बाँकेले गठबन्धनलाई नमान्ने निर्णय गरेको छ । जसपा बाँकेको जिल्ला कार्यसमिति बैठकले बाँकेमा जसपाले एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय नेताले गठबन्धन गर्दा बाँकेलाई अन्याय गरेको आरोप लगाउँदै गठबन्धन नमान्ने निर्णय भएको जसपा बाँकेका अध्यक्ष कमरुद्धिन राईले बताए ।
उनले भने,‘जसपा नेपालगन्ज नगरमा बलियो छ । हामीले नगरको विकासमा थुप्रै राम्रा काम गरेका छांै । संघीय सांसदले धेरै सहयोग गर्नु भएको छ । मलाई लाग्छ जनतासँग भोट माग्नको लागि हामीसँग आधार धेरैछन् ।’
जिल्ला कार्यसमिति बैठकले वडा देखी बाँकेको आठ स्थानीय तहमा जसपाले एक्लै निर्वाचन लड्ने तयारी गरेको अध्यक्ष राईले कालपृष्ठ दैनिकसँग बताए । नेपालगन्जको मेयरमा जिल्ला अध्यक्ष कमरुद्धिन राई र उपमेयरमा रमारानी वैश्यले प्रतिस्पर्धा गर्ने तयारी भैरहेको पार्टीले बताएको छ । पार्टीको नेतृत्वले गठबन्धन गर्दा स्थानीय आवश्यकतालाई वेवास्ता गरेर गठबन्धन गरेका कारण आफुहरुलाई स्वीकार्य नभएको अध्यक्ष राईले बताए । उनले थपे,‘पार्टीका शिर्ष नेताले हिजो सम्म जसपाले नेपालगन्जको मेयर पाउँछ भन्नु भएको थियो तर त्यो भएन । संगठन हाम्रो बलियो छ । गठबन्धनले जसपालाई घाटा हुन्छ । कांग्रेसका लागि हामीले राजनिति गरेको होइन । त्यसैले गठबन्धनको निर्णय हामी मान्दैनौं ।’
तस्बिर : नन्दलाल वैश्यलाई पार्टीमा स्वागत गर्दै राप्रपाका नेता । तस्विरः कालपृष्ठ