जसपा बाँकेले गठबन्धन नमान्ने
Friday, April 22nd, 2022, 7:47 am
Kalpristha
जनता समाजवादी पार्टी(जसपा)बाँकेले गठबन्धनलाई नमान्ने निर्णय गरेको छ । जसपा बाँकेको जिल्ला कार्यसमिति बैठकले बाँकेमा जसपाले एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय नेताले गठबन्धन गर्दा बाँकेलाई अन्याय गरेको आरोप लगाउँदै गठबन्धन नमान्ने निर्णय भएको जसपा बाँकेका अध्यक्ष कमरुद्धिन राईले बताए ।
उनले भने,‘जसपा नेपालगन्ज नगरमा बलियो छ । हामीले नगरको विकासमा थुप्रै राम्रा काम गरेका छांै । संघीय सांसदले धेरै सहयोग गर्नु भएको छ । मलाई लाग्छ जनतासँग भोट माग्नको लागि हामीसँग आधार धेरैछन् ।’
जिल्ला कार्यसमिति बैठकले वडा देखी बाँकेको आठ स्थानीय तहमा जसपाले एक्लै निर्वाचन लड्ने तयारी गरेको अध्यक्ष राईले कालपृष्ठ दैनिकसँग बताए । नेपालगन्जको मेयरमा जिल्ला अध्यक्ष कमरुद्धिन राई र उपमेयरमा रमारानी वैश्यले प्रतिस्पर्धा गर्ने तयारी भैरहेको पार्टीले बताएको छ ।
पार्टीको नेतृत्वले गठबन्धन गर्दा स्थानीय आवश्यकतालाई वेवास्ता गरेर गठबन्धन गरेका कारण आफुहरुलाई स्वीकार्य नभएको अध्यक्ष राईले बताए ।
उनले थपे,‘पार्टीका शिर्ष नेताले हिजो सम्म जसपाले नेपालगन्जको मेयर पाउँछ भन्नु भएको थियो तर त्यो भएन । संगठन हाम्रो बलियो छ । गठबन्धनले जसपालाई घाटा हुन्छ । कांग्रेसका लागि हामीले राजनिति गरेको होइन । त्यसैले गठबन्धनको निर्णय हामी मान्दैनौं ।’