आठ स्थानीय तहमा आठ रंगशाला निर्माण गछौंः अध्यक्ष शाही
Saturday, April 23rd, 2022, 7:21 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० वैशाख
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बाँकेको आठ स्थानीय तहमा फुटबल रंगशाला निर्माण गर्ने बताएका छन । शनिबार बाँके जिल्ला फुटबल संघको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष शाहीले फुटबलको विकासका लागि अबको चारवर्ष भौतिक पुर्वाधार निर्माणमा जोड दिने बताए ।
उनले भने,‘बाँकेको आठ स्थानीयमा तहमा स्तरीय रंगशाला निर्माण गर्ने योजना छ । केहि स्थानीय तहमा रंगशाला छन । भएका स्थानमा त्यसलाई सुधार गर्दै थप व्यवस्थित गर्ने र नभएका पालिकामा फुटबल रंगशाला निर्माण गर्ने हाम्रो योजना छ ।’
फुटबलको विकासका लागि अबको चार वर्षमा अन्य थुप्रै महत्वपुर्ण काम गर्ने योजना बनाएको अध्यक्ष शाहीले शनिबार पदभार ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा बताए । गत वैशाख ३ गते भएको बाँके जिल्ला फुटबल संघको साधारण सभा तथा निर्वाचनबाट भोजराज तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका थिए ।
शनिबार निर्वाचन अपिल समितिका प्रमुख अधिवक्ता प्रभाकर भंटराई, नेपाल खेलकुद पत्रकार मंच बाँकेका अध्यक्ष जयनारायण शाह, पत्रकार महासंघ बाँके शाखाका पुर्व अध्यक्ष झलक गैरे लगायतले बाँके जिल्ला फुटबल संघको नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष शाहीले बाँकेको फुटबल विकासका निम्ति नयाँ टिमले उर्जाशील भएर काम गर्ने बताए । पछिल्लो समय बिषम परिस्थितीका कारण चाहेर पनि फुटबलको विकासका निम्ति धेरै काम गर्न नसकेको बताउँदै अध्यक्ष शाहीले अबको नयाँ टिमले त्यसलाई पुर्ति गर्ने बताए । उनले भने,‘म धेरै खुसी छु । हाम्रो टिममा धेरै युवाहरु नेतृत्वमा आउनु भएको छ । सिनियरहरुको पनि उपस्थिती छ । अब बाँके फुटबलको भविष्य यो टिमको हातमा छ । मैले तेस्रो पटक अध्यक्षको जिम्मेवारी लिए । अब म अभिभावक भएर काम गर्न चाहन्छु । नयाँ पुस्तालाई आफनो क्षमता देखाएर काम गर्ने यो उत्कृष्ट अवसर हो । अब विगतको जस्तो फुटबलमा हुँदैन । हामी सबै मिलेर फुटबलको विकास गर्ने हो । एकवद्ध भएर फुटबलको नयाँ योजना बनाएर अगाडी बढने प्रतिवद्धता गर्दछौं ।’
कार्यक्रममा खेलपत्रकार जयनारायण शाहले अहिलेको निर्वाचित कार्यसमितिलाई फुटबललाई योजनावद्ध रुपमा अगाडी बढाउनु पर्ने चुनौति रहेको बताए । उनले भने,‘विगतमा के कति उपलब्धी भए । त्यसको समिक्षा होला तर अबको नयाँ टिमलाई जसरी पनि फुटबललाई चलायन बनाउनु पर्नेछ । फुटबल विकासका योजना सफल बनाउनु पर्नेछ । त्यसमा कुनै बहाना र छुट पाउने छैन अहिलेको टिमले । म राम्रो नतिजा र सफल कार्यकालको शुभकामना दिन चाहन्छु ।’
फुटबलको विकासका लागि पत्रकार र फुटबलकर्मी सधै एकै ठाउँमा भएर काम गर्ने गरेको पत्रकार गैरेले बताए । उनले भने,‘फुटबलको विकासमा भोजराज सहितको टिमको धेरै ठुलो योगदान छ । लगानी छ । बाँकेको फुटबलले सहि नेतृत्व पाएको छ । अब यसले सबैलाई एकतावद्ध गराउँदैं फुटबल विकासमा जोडनु पर्छ ।’
अधिवक्ता भंटराईले फुटबलले समाजलाई एकताको सुत्रमा बाध्ने काम गरेको भन्दै सानै उमेरदेखी बालबालिकालाई फुटबल खेल्नमा प्रेरित गर्नु पर्ने बताए ।