कांग्रेसको घरदैलो प्रचार प्रसार तीव्र
Wednesday, April 27th, 2022, 9:32 pm
Kalpristha
वैशाख ३० हुने स्थानीय चुनावका लागि मनोनयन दर्ता सम्पन्न भएसँगै नेपालगन्जमा कांगे्रसको उम्मेदवारहरु प्रचारप्रसारमा लागका छन् ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का नेपाली कांग्रेसका उम्मेदवारहरुले घरदैलो सुरु गरेका छन् । वडा नम्बर १२ बाट वडा अध्यक्षमा तरुण कुमार बज्राचार्य, महिला सदस्यमा सुशिला पन्त, दलित महिला सदस्य चन्दा चिडिमार तथा खुला सदस्यमा राजकुमार बाल्मिकी र सुकराम चिडिमारलाई उम्मेदवार बनाएको छ ।
उम्मेदवारहरुले बुधबार बेलासपुरका चिडिमार टोल, सन्तराम चोक क्षेत्रका मतदातालाई भेटेर नेपाली कांग्रेसका उम्मेदवारहरुलाई मतदान गर्न अनुरोध गरेको वडा अध्यक्षका उम्मेदवार बज्राचार्यले बताए । मतदाताहरुबाट राम्रो ’रेस्पोन्स’ आएको उनले बताए ।
त्यस्तै वडा नम्बर ४ मा वडा अध्यक्षका उम्मेदवार प्रदिप शाह (तेली) ले आफ्नो चुनावी प्रचार अभियान तीव्र पारेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार शाहले वडा नम्बर ४ मा घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् । घरदैलो गर्दै अध्यक्षका उम्मेदवार शाहले वडाको बिकासका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सबैलाई विजयी बनाउन आग्रह गरेका छन् ।
अध्यक्षका उम्मेदवार शाह, सदस्य पदका उम्मेदवारहरु उत्तमसिंह सिजापति, मो.सलिम हलवाई, अस्मिता शाह महतरा र सुशिला कोरीसहित नेता कार्यकर्ताहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । घरदैलो कार्यक्रममा स्थानीयहरुले पनि यसपटक वडामा कांग्रेसको खाँचो रहेको बताउँदै आएको उम्मेदवारहरु बताउँछन् ।
अध्यक्षका उम्मेदवार शाह मिलनसार, सहयोगी भएकै कारण उनलाई वडावासीले धेरै रुचाएको बताइएको छ ।
साथै नेपाली कांग्रेसका तर्फबाट बाँकेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेल र उपाध्यक्षका उम्मेदवार मनिषासिंह थारुले विभिन्न वडाका क्रियाशील सदस्यहरुलाई भेटेर कांग्रेसका सबै उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरेका छन् ।
बुधबार वडा नम्बर २, ४, ५, ६ र ७ का क्रियाशील सदस्यहरुलाई भेटेर पौडेल र थारुले समृद्ध राप्तीसोनारी बनाउने आफूहरुको अठोटलाई साकार पार्न सम्पूर्ण पार्टीपंक्ति एकताबद्ध भएर लाग्नुपर्ने बताए । अध्यक्षका उम्मेदवार पौडेलले राप्तीसोनारीले पछिल्लो पाँच वर्षमा लिएको विकासको गतिलाई निरन्तरता दिँदै अझ समृद्धिशाली बनाउन कांग्रेसको विकल्प नरहेको बताए ।
पौडेलले राप्तीसोनारीलाई समृद्ध बनाउन भौतिक पूर्वाधार विकाससंगै सामाजिक विकासलाई संगसंगै लैजाने बताए । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सुशासन लगायतका विषयलाई प्राथमिकतामा राख्दै पालिकालाई सूचना र प्रविधिमैत्री बनाउने पौडेलले बताए । अध्यक्ष पौडेल र उपाध्यक्ष थारुले अध्यक्ष, उपाध्यक्षलगायत सम्पूर्ण वडाका उम्मेदवारहरुलाई रुख चिन्हमा मतदान गरी विजयी बनाउन आग्रह गरे ।