प्रशान्त बिष्ट र कमरुद्दिन राईको सम्पर्क कार्यालय खुल्यो
Wednesday, April 27th, 2022, 9:35 pm
Kalpristha
नेपालगन्जका मेयरका उम्मेदवार प्रशान्त बिष्ट र उपमेयरका उम्मेदवार कमरुद्दिन राईको सम्पर्क कार्यालय स्थापना गरिएको छ । नेपालगन्जको सिएसटी होटेलमा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
नेपालगन्जको मेयर र उपमेयरमा कांग्रेस र जसपाबीच चुनावी तालमेल छ । बिष्ट कांग्रेस र राई जसपाबाट उम्मेदवार भएका हुन् ।
नेपाली कांग्रेसका नेता, कार्यकर्ता, मेयरका उम्मेदवार बिष्ट, उपमेयरका उम्मेदवार राईलगायत कांग्रेसका तर्फबाट वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुको उपस्थितिमा बुधबार एक समारोहका बीच सम्पर्क कार्यालयको स्थापना गरिएको हो ।
कार्यालय स्थापना कार्यक्रममा बोल्ने मेयरका उम्मेदवार बिष्टले संविधान र लोकतान्त्रकको रक्षाका लागि मेयर–उपमेयरमा चुनावी तालमेल भएकाले आफूहरु दुवै उम्मेदवारलाई अत्याधिक मतले विजयी बनाउन आग्रह गरे । उनले आफू मेयरमा निर्वाचित भए पश्चात् नेपालगन्जका नागरिकहरुलाई अनुभूति हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै उपमेयरका उम्मेदवार राईले विकसित र समुन्नत नेपालगन्ज बनाउन नेपालगन्जवासीले आफूहरुको खाँचो महसुस गरिसकेको बताए ।
सम्पर्क कार्यालय स्थापना कार्यक्रममा नेताहरूले मन, वचन र कर्मले प्रतिवद्ध भई मेयर– उपमेयरका उम्मेदवारहरुलाई जिताउनतर्फ लाग्न आह्वान गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मकुलाल बाल्मिकी, पार्टी सभापति नारायण प्रसाद गौडेल, राष्ट्रिय सभा सदस्य युवराज शर्मा, निवर्तमान सभापति किरण कोइराला, पूर्व सभापति एवम् पूर्वमन्त्री गजेन्द्र हमाललगायतले गठवन्धन तथा पार्टीका उम्मेदवारहरुलाई जिताउन सम्पूर्ण पार्टीपंक्तिलाई आह्वान गरे ।