शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
Wednesday, April 27th, 2022, 9:38 pm
Kalpristha
नेपाल सरकारले हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको छ । जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
मन्त्री कार्कीले भनेका छन्, ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० साँझ ५ः३० बजे कार्यालय समय कायम गर्ने र शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिने मन्त्रिपरिषदको निर्णय भएको छ ।’
मन्त्रिपरिषद बैठकले कम आवश्यक, बिलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने १० वस्तु आयातमा पनि प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।
त्यस्तै आर्थिक वर्ष २०७८÷७९ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल तीन हजार एक सय ६५ निर्धारण गर्ने समेत निर्णय भएको छ ।
विद्यालय र क्याम्पस पनि बिदा
सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए ।
सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९ः ३० बजेदेखि साँझ ४ः३० सम्म सञ्चालन हुने उनले जानकारी दिए । बिहान १० बजेदेखि ५ बजे सम्म सञ्चालन हुने कार्यालय भने बिहान साढे ९ बजे खुल्ने र साँझ साढे ५ बजे बन्द हुनेछन् ।
उनले भने, ‘विद्यार्थीको पढाइमा असर नपुगोस् भनेर अरु सार्वजनिक बिदा काटिन्छ, कसरी कक्षा सञ्चालन गर्ने मन्त्रालयले कार्ययोजना पनि बनाउँछ ।’
सरकारले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । शिक्षामन्त्री पौडेलले परीक्षणका रूपमा मात्रै बिदा दिने निर्णय गरिएको बताए ।
विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले सार्वजनिक बिदा बढाउने निर्णय गरेको हो ।