बिहीबार गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान
Wednesday, April 27th, 2022, 9:42 pm
Kalpristha
भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । बिहीबार नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
उडानका लागि नेपाल वायुसेवा निगमको विमान काठमाडौं विमानस्थलबाट बिहीबार दिउँसो ३ बजे भैरहवाका लागि उड्ने छ भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि साँझ ५ बजे काठमाडौं फर्किने छ ।
विमानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेका साथै पर्यटन मन्त्रालयका सचिव, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायत दुई सय ६० जनाको टोली गौतमबुद्ध विमानस्थल आउने भएका छन् । उक्त टोलीले विमानस्थलको अवस्था, भन्सार, अध्यागमन, सुरक्षालगायतका बारे जानकारी लिनेछ ।
परीक्षण उडानपछि अब अन्य मुलुकहरूले पनि चार्टड फ्लाईट गर्न सक्ने र व्यावसायिक उडानका लागि सूचना पठाउन सक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए ।
यो विमानस्थलबाट उडान भर्न सरकारले हवाई कम्पनीहरूलाई औपचारिक आग्रह गरिसकेको छ । विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीले चासो देखाएका छन् । यद्यपि, व्यावसायिक उडानका लागि औपचारिक पत्र भने पठाएका छैनन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २ जेठमा बुद्ध पूर्णिमाका दिन व्यावसायिक अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ ।
यसअघि नयाँ वर्षका दिन परीक्षण उडान हुने भनिएकोमा स्थगित भएको थियो ।
गत बिहीबार आन्तरिकतर्फ निजी क्षेत्रको हवाई सेवा प्रदायक यती एयरलाइन्सले गौतमबुद्ध विमानस्थलमा पहिलो उडान गरेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग आन्तरिक एयरलाइन्सले उडान सुरु गरिसकेका छन् । निजी क्षेत्रको बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीले उडान भर्दै आएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ । गौतमबुद्ध विमानस्थल रूग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूआतमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापर्बाहीले रोकिएको थियो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आएको हो ।
एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब खर्च भएको प्राधिकिरणले जनाएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ ।
बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो ।
नेपालको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बिहीबारदेखि उडान सुरु भएको छ । नेपाली वायु सेवाको इतिहासमा काठमाडौं बाहिर अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग संचालनमा आएको यो ७४ वर्ष पछि पहिलो पटक हो ।
विमानस्थलमा विमान उडानका लागि पुरानो १५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको ३ हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याएको हो ।अब विदेशी जहाजले काठमाडौं विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आकस्मिक कारणमा भैरहवा विमानस्थलमा अवतरण गर्न सक्नेछन् ।
आगामी जेठ २ गते बुद्ध जयन्तिका दिनदेखि उक्त विमानस्थल संचालनमा आउने नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।