नेपालगन्जको विकासका लागि गठबन्धन आवश्यक : विष्ठ
Thursday, April 28th, 2022, 9:27 pm
Kalpristha
स्थानीय चुनावका लागि नेपालगन्ज उप–महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उमेदवार प्रशान्त विष्टले नेपालगन्जको विकासका लागि गठबन्धन विजयी हुन जरुरी रहेको बताएका छन् । उनले आफू र उपमेयरका उम्मेदवार कमरुद्दिन राईलाई अत्याधिक मतका साथ विजयी गराउन आग्रह गर्दै नेपालगन्जको समृद्धिका लाग ‘प्रशान्छ–कमरुद्दिन’ को जोडीले जित्न जरुरी रहेको बताए ।
जनता समाजबादी पार्टी नेपाल बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको चुनावी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै विष्टले प्रशान्त र कमरुद्दिन सामाजिक सद्भाव खल्बल्याउने काममा कहिँकतै सामेल नभएको बताउँदै सामाजिक सद्भाव बढाएर नेपालगन्ज बदल्ने अभियानमा लाग्ने स्पष्ट पारे ।
जसपाका नेता एवम् पूर्व मन्त्री मो. इस्तियाक राई गठबन्धनबाट पुनः मन्त्री हुने ठोकुवा गर्दै यसअघि सांसद समेत रहेका राईले नेपालगन्जको विकासका लागि दिएको संसद विकास कोषको पैसा अहिलेका मेयर डा. धवल शमशेर राणाले फिर्ता गर्नु दुर्भाग्य रहेको बताए । आफूहरुले जिते अब नेपालगन्जको विकासमा हातेमालो गर्ने विष्टले बताए ।
कार्यक्रममा उपमेयरका उम्मेदवार राईले मेयर र उपमेयरमा आफूहरुलाई जिताएर नेपालगन्ज बनाउने अभियानमा साथ दिन आग्रह गरे । सांसद राईले नेपाली कांग्रेस र जसपाले नेपालगन्जमा गरेको चुनावी तालमेल सफल बनाउन दृढताका साथ लाग्न निर्देशन दिए । मेयर उपमेयरमा हार्ने छुट आफूहरुलाई नभएको भन्दै प्रतिबद्ध भएर लाग्न आह्वान गरे ।
प्रचार प्रसारलाई तीव्रता
गठबन्धनको तर्फबाट नेपालगन्जको मेयरमा कांग्रेसका विष्ट र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राईले प्रचार प्रसारलाई तीव्रता दिएका छन् ।
विष्ट र राई नेपाली कांग्रेससहित नेकपा माओबादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुन् । मेयर पदका उम्मेदवार विष्ट, विभिन्न वडा तहमा रहेका उम्मेदवार, नेता, कार्यकर्ताहरु बिहीबार बिहानैदेखि प्रचारप्रसारमा ब्यस्त भएका हुन् । आफूहरु घरदैलोमो पुग्दा नेपालगन्ज उपमहानगरबासीले हौसला दिइरहेको विष्टले बताए ।
‘निर्वाचनको प्रचारप्रसार गर्ने समय एकदमै छोटो छ, जतिसक्दो हाम्रा मतदातालाई मैले भेट्नेछु,’ उनले भने ‘अहिलेसम्म जति जनालाई भेटेको छु, अधिकांश मतदाता उत्साहित हुनुहुन्छ, ठाउँ ठाउँमा हामीलाई स्वागत गर्नुभएको छ ।’ यस्तै उपमेयर पदका उम्मेदवार राई पनि प्रचारप्रसारमा ब्यस्त छन् ।
मेयरमा विष्ट र उपमेयरमा आफू निर्वाचित भएपछि नेपालगन्ज उपमहानगरपालिकाले विकासमा फड्को मार्ने राईले सुनाए ।