उमेदवारले शिक्षालाई प्राथमिकता दिन जोड
Thursday, April 28th, 2022, 9:29 pm
Kalpristha
आगामी वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा होमिएका उमेदवारले शिक्षाको सवाललाई प्राथमिकता दिनुपर्नेमा बाँकेका सरोकारवालाले जोड दिएका छन् ।
शिक्षाका लागि विश्वव्यापि कार्य सप्ताहको अवसरमा शिक्षाका लागि नागरिक सञ्जाल (एनसिइ) बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सहभागिहरुले जनप्रतिनिधिले शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।
कार्यक्रमको सहजीकरण गरेका शिक्षाविद जीतबहादुर शाहले मतदाताले पनि उमेदवारसँग शिक्षाको सवाललाई प्राथमिकता दिए÷नदिएको बारे प्रश्न गर्न सक्नुपर्ने बताए । पछिल्लो पुस्ताको पढाइप्रति चासो कम देखिएको, लागूपदार्थ दुव्र्यसनमा फसेको लगायतका समस्या देखिएकाले यसको सुधार गर्नतर्फ विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय सरकार एकजुट हुनुपर्ने शाहले बताए ।
कार्यक्रममा सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर वृद्धि गर्नेबारे नेपालगन्जका राजनीतिकर्मी, शिक्षक, मानवअधिकारकर्मीलगायतका सरोकारवालाबीच छलफल गरिएको एनसिई बाँकेका अध्यक्ष तारा खनालले बताए ।
कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ का माओवादीका तर्फबाट उमेदवार मनोनयन भएका परमेश्वर डिसीले आफ्नो घोषणा पत्रमा शिक्षाका सवाल समावेश गरिएको बताउँदै कार्यान्वयनका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा इन्सेकका कृष्णमुरारी प्रसाद भट्ट, भद्र देवकोटा, गणेश जिसी, जयन्तिगिरी, सुनीता विष्टलगायतको सहभागीता रहेको थियो ।