कमरुद्दिन चुनावी अभियान तीव्रगतिमा
Sunday, May 1st, 2022, 8:33 pm
Kalpristha
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगन्ज उप–महानगरपालिकाका उप–प्रमुख पदका उमेदवार कमरुद्दिन राई बलिया उम्मेदवारका रुपमा देखिएका छन् । चुनावी प्रचारप्रसारमा तीव्र गतिले लागेका राईलाई नेपालगन्ज नगरवासीले समर्थन जनाउँदै आएका छन् ।
नेपाली कांग्रेस र जसपाबीचको चुनावी गठबन्धनबाट उपप्रमुख पदमा चुनावी प्रतिस्पर्धामा उत्रिएका राइले नगरक्षेत्रमा चुनावी अभियानलाई सशक्त बनाउँदै आफ्नो पकड बलियो चुनावी अभियानलाई तीव्रता दिँदै आएका छन् । यसअघि पनि जनतामाझ पुगिरहने उनी पछिल्ला दिनमा भने उपप्रमुखमा मतदान गर्न अपिलसहित घरघरमा पुगिरहेका छन् ।
उनी पुग्न नसकेका ठाउँका मतदाताले बोलाउने गरेको राई बताउँछन् । समय छोटो भए पनि सवै ठाउँका मतदातामाझ पुग्ने प्रयास गरेको उनले बताए ।
‘सबै मतदातामाझ पुग्ने मेरो चाहना छ, तर समय छोटो भएकोले कहिँकतै पुग्न नसकिएको होला । जान छुटेको ठाउँका मतदाताले मेरो समस्या बुझिदिनु हुने छ भन्ने मलाई आशा छ,’ उनले भने ।
उनले थपे, ‘म पुग्न नसकेको ठाउँका मतदाताले फोन गरेर एकछिनका लागि भए पनि आइदिनु पर्यो, हाम्रो कुरा सुनिदिनु पर्यो भन्नुहुन्छ । मतदाताको उत्साह देखेर म पनि उत्साहित भएको छु ।’
मतदातामा देखिएको उत्साहले चुनाव जित्नेमा उनी ढुक्क छन् । ‘मलाई सबै बर्ग, समूह, जातजाती, धर्मावलम्बीको साथ, सहयोग र समर्थन मिलेको छ । यसले म चुनाव जित्ने सुनिश्चितता गरेको छ,’ उनले भने ।
मुस्लिम समुदायबाट प्रतिनिधित्व गरेर स्थानीय सरकारको नेतृत्वमा जान आफू चुनावी प्रतिस्पर्धामा उत्रिएकाले राई बताउँछन् ।
चुनावको मिति नजिकिँदै गर्दा नेपालगन्जमा राइप्रतिको साथ र समर्थन थपिँदै गएको छ ।
राई नेपालगन्ज उप–महानगरपालिका–१५, जयसपुरमा मधेशी तथा मुस्लिम समुदायका बालबालिका शिक्षाबाट वञ्चित रहेको बताउँदै निर्वाचित भएपछि शैक्षिक गुणस्तरका लागि आफूले पहल गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।