नेतृत्वमा परिवर्तन चाहेका छन वडावासीलेः सानु बर्मा
Sunday, May 1st, 2022, 8:40 pm
Kalpristha
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ मा नेपाली काँग्रेसको तर्फबाट मंगलप्रसाद बर्मा (सानु) चुनावी प्रतिस्पर्धामा छन् ।
काँग्रेसले बर्माको नेतृत्वमा महिला सदस्य पदमा केशु पोख्रेल, दलित महिला सदस्य पदमा सरोज सोनकर, खुल्ला सदस्य पदमा रामप्रसाद मुराउ र रामबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ ।
सानु बर्मासहितको टीम अहिले चुनावी घरदैलोमा व्यस्त छ ।
जनतासँग मत माग्न व्यस्त रहेका बर्मा भन्छन, ‘हामीसँग महत्वकांक्षी र ठूला योजना केहीपनि छैनन् । वडालाई सम्बृद्ध र विकसित वडाको रुपमा रुपान्तरण गर्ने योजना मात्रै छ ।’
कम बोल्ने तर बोलेको काम पूरा गर्ने सानु बर्माको शैली र व्यवहारले वडाबासीले उनलाई आशा र भरोसाको केन्द्र मान्छन् । अघिल्लो निर्वाचनमा जितेका जनप्रतिनिधिले विकासलाई समानुपातिक ढंगबाट अघि बढाउन नसकेको पीडा सबैभन्दा बढी यही वडाबासीले वेहोरेका छन् ।
अघिल्लो चुनावमा निर्वाचित जनप्रतिनिधिले विकासमा राजनीतिक गर्दा समग्र वडाको विकास हुन सकेन् । सानु बर्माले विभेदरहित विकासको अवधारणा अघि सारेका छन् ।
‘राजनीतिक दलप्रति आस्था हुनु स्वभाविक हो बर्माले भने, ‘चुनाव जितेपछि विकासमा राजनीति गर्नु हुँदैन्, सबै वडाबासीलाई समान व्यवहार गर्नुपर्छ ।’ तर विगतका जनप्रतिनिधिबाट समान व्यवहार हुन नसकेपछि धेरै वडाबासीले चित्त दुखाएका छन् । त्यही भएर यो पटकको निर्वाचनमा वडा नम्बर १८ नयाँ नेतृत्व स्थानीयले चाहेको बताउँछन वडा अध्यक्ष पदका उम्मेदवार बर्मा ।