‘कृषकलाई निःशुल्क विद्युतदेखि १२ कक्षासम्म निःशुल्क शिक्षा’
Monday, May 2nd, 2022, 7:08 pm
Kalpristha
खजुरामा नेपाली कांग्रेस र नेकपा माओवादीले स्थानीय तहको निर्वाचनका लागि सयुक्त रुपमा प्रतिवद्धता पत्र घोषणा गरेका छन ।
‘विकासको प्रमुख आधार, एक व्यक्ति एक रोजगार, हामी विकास पक्षमा बोल्छांै, जे बोल्छौं, समाजका लागि गर्र्छौं’ लाई आत्मसाथ गर्दै निर्माण गरिएको घोषणापत्रमा खजुरा गाउँपालिकाका सबै वडाहरुका समस्याहरुको खोजी गरी ती समस्याहरुको समाधान गर्ने उद्देश्यका साथ अल्पकालीन र दीर्घकालीन रूपमा गरिने कार्ययोजनालाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
सार्वजनिक गरिएको घोषणापत्रमा कक्षा १२ सम्म निशुल्क शिक्षा, उच्च शिक्षामा छात्रवृत्ति देखी लिएर खजुरामा युवाहरुका लागि स्वरोजगार कार्यक्रम, गाउँपालिकामा खरको छानो रहित सुरक्षित आवास, अधिकार सम्पन्न कृषि प्राधिकरण स्थापना गरी आधुनिक कृषि प्रणालीमा जोड दिने उल्लेख गरिएको छ ।
यसैगरी पालिकाको विकासका लागि भौतिक पुर्वाधार प्राधिकरण स्थापना गरेर विकास निर्माणको कार्यलाई अगाडी बढाउने, भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्ने, खेलकुद विकास बोर्ड, कृषि व्यावसायमा आत्मनिर्भर कृषकहरुलाई कृषि कार्य गर्नको लागि निशुल्क विद्युत मिटरको व्यवस्था गर्ने लगायतका योजनाहरु घोषणापत्रमा उल्लेख गरिएको छ ।
मंगलबार खजुरामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सह महामन्त्री किशोर सिंह राठौर, गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार डम्बर विक तुफान, मञ्जु मल्ल र निर्वाचन परिचालन कमिटिका संयोजक राजकुमार विकले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरे ।
घोषणापत्र सार्वजनिक गर्दै सह महामन्त्री राठौंरले गठबन्धनको उम्मेदवारलाई विजयी गराउने जिम्मेवारी माओवादी र कांग्रेसका नेता तथा कार्यकर्ताको काधमा जिम्मेवारी आइपरेको बताए । उनले भने,‘नेपाली कांग्रेस यो देशको जिम्मेवार पार्टी हो । देशको परिस्थितीलाई कसरी सम्हालेर अगाडी बढाएर लैजाने भन्ने दायित्व हामीमा छ । हामीले आफुभित्रका असन्तुष्टिलाई थाती राखेर अहिले सफलता हासिल गर्नु पर्नेछ । हामीसबैमाथि खजुरा गाउँपालिकालाई जिताउनु पर्ने जिम्मेवारी आइपरेको छ ।’
सह महामन्त्री राठौरले माओवादी र कांग्रेसका नेता तथा कार्यकर्ताले एक भएर गठबन्धनलाई सफल बनाउन मिहिनेत गर्नु बताए । उनले अगाडी भने,‘अहिले थुप्रै साथीहरु अवसरबाट बञ्चित हुनु भएको छ । भोली आउँदा दिनमा ति कुरालाई मध्यनजर गर्दै अवसर दिइनेछ । तर अहिले कांग्रेस र माओवादी गठबन्धनलाई सफल बनाउन अनुरोध गर्दछु ।’
अध्यक्ष पदका उम्मेदवार डम्बर विक तुफानले घोषणा पत्रमा उल्लेख गरिएका प्रतिवद्धताले जनतालाई जितिसकेपछि नयाँ ढंगबाट लागु गराउन जिम्मेवार बोध गराउने बताए । उनले जनताको सम्पुर्ण विकासको जिम्मा, कृषि, उद्योगको विकास, पुर्वाधारको विकास, शैक्षिक सुधार गर्ने लगायतका धेरै कुराको जवाफ प्रतिवद्धतापत्रमा रहेको बताए ।
गठबन्धनले जितेपछि ति प्रतिवद्धताहरु पुरा गर्ने उनले बाचा गरे । यसैगरी उपाध्यक्ष पदको उम्मेदवार मञ्जु मल्लले गठबन्धनलाई सफल बनाउनका लागि सहयोग गर्न सम्पुर्णमा हार्दिक अपिल गरिन ।