व्यवस्थापनमा कमजोर छ नेपालगन्ज : थापा
Monday, May 2nd, 2022, 9:51 pm
Kalpristha
नेपालगन्ज उप–महानगरपालिकाको नेतृत्व जित्न पार्टीगत उमेदवारीसँगै स्वातन्त्र उमेदवारको पनि चर्चा चलिरहेको छ । सामाजिक सञ्जाल तथा व्यक्तिगत रुपमा स्वतन्त्र व्यक्तिलाई जिताउने तर्कको पनि कमी छैन ।
यसैबीच नेपालगन्ज उप–महानगरपालिकाको मेयरका उमेदवार दिनेश थापाको उमेदवारीले पनि चर्चा कमाउन सफल भएको छ । उनलाई चर्चामा ल्याउन उनले जारी गरेको प्रतिवद्धता नै हो ।
नेपालगन्जको विकासमा देखिएका कमी कमजोरीलाई औल्याउँदै दीर्घकालीन योजनासहितको उनको ६० बुँदे प्रतिवद्धतापत्रले नेपालगन्ज वासीको ध्यान खिच्न सफल भएको छ । तर उनको प्रतिवद्धता ठूला–ठूला परिवर्तनका कुरा भने समावेश देखिदैन ।
थापा भन्छन्, ‘मलाई ठूलो परिवर्तन गर्न छैन । नेपालगन्जवासीका लागि चाहिने दैनिक सेवाहरुलाई प्रभावकारी रुपमा प्रवाह गर्नु नै हो ।’
सोमबार थापाले औपचारिक रुपमा पत्रकार सम्मेलन गरेर आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका छन् । तर उनले अनौपचारिक रुपमा भने यसअघिनै आफ्ना प्रतिवद्धता भने जनता सामु ल्याइसकेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसहितालाई पूर्णरुपमा लागू गर्दै थापाले सामान्य रुपमा आफ्नो प्रचार गर्दै आएका छन् । उनी देखाओटी प्रचारले भन्दा वौद्धिक व्यक्तिहरुसँगको भेटघाटले चुनाव जित्न सकिने तर्क गर्छन् ।
त्यसैले थापा आफ्नो प्रतिवद्धतामा नेपालगन्ज उप–महानगरपालिकाले व्यवस्थापन गर्न नसकेका कुराहरुलाई नै बढी प्राथमिकता दिएका छन् । उनी भन्छन्, ‘सरकारले जनतालाई धेरै सुविधा दिएको छ । तर त्यसको व्यवस्थापन हुन भने सकेको छैन । सामान्य कुराहरु पनि व्यवस्थापन हुन नसक्दा जनताले दुःख पाएका छन् ।’
के छ त थापाको प्रतिवद्धतामा ?
थापाले सार्वजनिक गरेको प्रतिवद्धताको सुरुमा नै उनले शिक्षालाई जोड दिएका छन् । त्यस्तै स्वास्थ्य, रोजगारी, पूर्वाधार, कृषि तथा पशुपालन, सामाजिक सुरक्षा, पर्यावरण तथा छाडा चौपाय, नाली तथा फोहोर व्यवस्थापन र सामाजिक सद्भावका विषयमा उनले प्रतिवद्धता जनाएका हुन् ।
थापाले सरकारले शिक्षामा ठूलो बजेट छुट्याए पनि सो अनुरुप नगरले विद्यालयलाई बजेट दिन नसकेको बताउँछन् । त्यस्तै उनीले शिक्षा तथा योग्यता बोकेर नेपालगन्ज फर्केका युवाहरुलाई केही गर्ने वातावरण नै नभएको बताए ।
त्यस्तै थापा नेपालगन्जमा बाटो तथा नालीको निर्माण भएता पनि त्यसको व्यस्थापन नहुँदा पानी निकास नहुने समस्या रहेको बताउँछन् । उनले जनतामा चेतनाको कमी भएका कारण नालीमानै सबै किसिमको फोहोर फालिने गरेको बताए ।