ईदमा उल्लासमय बनेको नेपालगन्ज
Tuesday, May 3rd, 2022, 3:31 pm
Kalpristha
नेपालगन्ज सहरलाई सामाजिक सद्भावको सहरका रुपमा चिनिन्छ । विभिन्न धर्म, सांस्कृतिका व्यक्तिहरु सामुदायिक हिसावले भाईचाराको रुपमा बसोबास गर्दै आएकाले नेपालगन्जले सद्भावको तक्मा पाएको हो ।
ईतिहास कालखण्ड हेर्दा पनि लामो समयदेखि नेपालगन्जमा विशेषगरी हिन्दू र मुस्लिम समुदायको बाहुल्यता रहेको देखिन्छ । मधेसी समुदायको रुपमा परिचित नेपालगन्जमा धार्मिक आस्थाका रुपमा विभिन्न धर्मावालम्वीहरुको सामुदायिक सहभागितामा विभिन्न कार्यक्रम गरिँदै आइरहेको पाइन्छ । जहाँ सबै धार्मिक गुरुहरुको उपस्थिति देख्न सकिन्छ ।
मंगलबार पनि नेपालगन्ज उल्लासमय नै रह्यो । मुस्लिम समुदायको महानपर्व ईदको अवसरमा नेपालगन्जको वीपी चोकमा देखिएको जमातले नेपालगन्जमा हुने धार्मिक मेलमिलापलाई पुष्टि गर्दछ ।
उसोत हरेक वर्ष वीपी चोकमा ईदको रौनक देख्न सकिन्छ । तर कोरोनाले प्रभावले गर्दा दुई वर्षपछि ईदको अवसरमा नेपालगन्ज उल्लासमय बनेको हो ।
वीपी चोकमा धार्मिक दृष्टिकोणले फरक–फरक व्यक्तिहरुको उपस्थिति भएता पनि विन्नताको अंश सो माहोलमा कत्ति पनि देखिएन । अझ राजनीतिक दलहरुको सहभागिताले वीपी चोकको माहोलमा रौनकता थपिदियो ।
स्थानीय चुनावका लागि हरेक दलहरुको कसरत चलिरहेको छ । तर सो माहोलमा उपस्थिति राजनीतिक दहरुका उमेदवारहरुले चुनावी प्रचारभन्दा बढी भाईचारा निभाएको देखियो ।
सबै दलहरुका उमेदवारको मुखमा नेपालगन्ज सद्भावको सहर हो भन्ने मा त्र सुनियो ।
सामुदायिक नमाजपछि रोजा सकियो
इदुल फित्र ईद मुस्लिम समुदायको ठूलो पर्वमध्ये एक हो । एक महिने रोजाको अन्तिम दिन मंगलबार नमाज पढेपछि रोजा सकिएको छ ।
नमाज पढनको लागि वीपीचोकस्थित मस्जिदमा ठूलो संख्यामा मानिसहरुको सहभागिता रहेको थियो । मस्जिद भित्र नआएटापछि सडक र पेटीमै नमाज पढिएको थियो ।
नमाज पढेपछि गला मिलाएर एक अर्कालाई शुभकामना आदान प्रदान गरिन्छ । शुभकामना दिनका लागि उमेदवारहरु वीपीचोकमा पुगेका हुन् ।
शुभकामना आदानप्रादनमा गठबन्धनतर्फका नेपाली कांग्रेसका मेयर पदका उमेदवार प्रशान्त विष्ट र उप–मेयरका उमेदवार कमरुद्दीन राई, राप्रपाका मेयर पदका उमदवार नन्दलाल वैश्य र उप–मेयरकी उमेदवार विन्दु चर्तीमगर, नेकपा एमालेका पशुपतिदयाल मिश्रलगायतको उपस्थिति रहेको थियो ।