नेपाली नयां वर्ष : डालस र अष्टिनमा एकै दिन (यही अप्रिल १५ मा) भव्य कार्यक्रम
Wednesday, April 5th, 2017, 2:22 am
amit
के सी शेर
अष्टिन (टेक्सास) – टेक्सासको डालस र अष्टिनमा एकै दिन नेपाली नयां वर्ष २०७४ को अवसरमा भव्य कार्यक्रम गरिने भएका छन् ।
यही १५ तारिख शनिवार नेपालीहरुको बाक्लो उपस्थिती रहेका टेक्सासका दुई शहर डालस र अष्टिनमा पिकनिक, बिभिन्न खेलकुद कार्यक्रम तथा मनोरञ्जनात्मक कार्यक्रम सहित मेलाको आयोजना गरेर नेपाली नयां वर्षलाई हर्ष उल्लासका साथ स्वागत गर्न लागिएको हो ।
टेक्सासको ड्यालसमा टेक्सासका नेपालीहरुको सबैभन्दा ठुलो संस्था नेपाली समाज टेक्सासको आयोजना र अष्टिनमा अष्टिनका नेपालीहरुको साझा संगठन ग्रेटर अष्टिन नेपाली सोसाइटीको आयोजनामा एकै दिन भव्य कार्यक्रम गर्न लागीएको हो । डालसमा नयां वर्षलाई स्वागत गर्न नेपालीहरुको भव्य मेला सहित खेलकुद प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम गरेर नयां वर्षलाई स्वागत गर्न लागीएको नेपाली समाजका अध्यक्ष कृष्ण लामीछानेले जानकारी दिनुभयो ।
अध्यक्ष लामीछानेका अनुसार नेपाली समाजको आयोजनामा मेला लगाइने छ र मेलामा खानेकुरा र बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित बिमा सम्बन्धी जानकारी तथा ट्राभल एजेन्सीका स्टलहरु समेत राखिने छन् । यस वर्ष डालसमा नयां वर्षलाई अलि फरक तरिकाबाट स्वागत गर्ने तयारी गरेका छौं समाजका अध्यक्ष लामीछानेले भन्नुभयो – “धेरै भन्दा धेरै नेपालीहरुलाई सहभागी बनाएर कार्यक्रमलाई भव्य बनाउन तयारी लगभग सकिएको छ ।”
कार्यक्रममा भविल प्रतियोगिता तथा नेपाली ड्रेस प्रतियोगिता समेत गरिने अध्यक्ष लामिछानेले बताउनुभयो । उहांका अनुसार कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन हास्य कलाकार बले र कक्रोज सहित स्थानीय कलाकारको भरपुर साथ रहनेछ ।
गत वर्षहरुमा हल भित्र कार्यक्रम गर्ने गरिएको थियो अध्यक्ष लामीछानेले भन्नुभयो – “यसपटक पार्कमा नेपाली पाराको जात्रा गरिने छ जसले नेपाली संस्कृति झल्काउने छ ।”
डालसमा भव्य मेला सहितको कार्यक्रम हुने सोही दिन अष्टिनमा पनि भव्य पिकनिक तथा खेलकुद सहित मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको छ ।
ग्रेटर अष्टिन नेपाली सोसाइटीको आयोजनामा हुन लागेको कार्यक्रमको तयारी तिब्र पारीएको अध्यक्ष देबराज न्यौपानेले बताउनुभयो । हरेक नेपाली नयां वर्षमा कार्यक्रम गर्दै आएको ग्रेटर अष्टिन नेपाली सोसाइटीले यस वर्षको कार्यक्रम अझै व्यापक हुने बताएको छ । आउने १५ तारिख शनिवार पिकनीक सहित भलिवल र बास्केटवल प्रतियोगिता तथा फुटवलको फाइनल प्रतिस्पर्धा सहित मनोरञ्जनात्मक कार्यक्रम हुनेछन् ।
फुटवलका पहिलो चरणका प्रतिस्पर्धा भइसकेर फाइनल मात्रै सो दिन हुनेछ । हरेक वर्ष अष्टिनवासी नेपालीहरुका लागी नयां वर्षको मेसो पारेर बृहत बनभोज गर्दै आएको ग्रेटर अष्टिन नेपाली सोसाइटीले सहभागीताको लागी सबैमा आग्रह गरेको छ ।