देशभर प्रमुखसहित ३ सय ९० जना निर्वाचित
Sunday, May 8th, 2022, 7:18 pm
Kalpristha
स्थानीय तहको निर्वाचन-२०७९ का लागि हालसम्म देशभरका विभिन्न स्थानीय निकायमा तीन सय ९० जना निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार एउटा मात्रै उम्मेदवारी परेका स्थानहरुमा निर्विरोध निर्वाचित गराइएको हो । आयोगको नियमअनुसार कुनै पनि स्थानीय तहमा एकजनाको मात्रै उम्मेदवारी परेको खण्डमा सो व्यक्ति निर्विरोध निर्वाचित हुने प्रावधन रहेको छ ।
आयोगका अनुसार सबैभन्दा बढी नेकपा एमालेबाट उम्मेदवारी दिएको उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् । एमालेबाट अध्यक्ष पदका एकजना, उपाध्यक्ष दुईजना, दलित महिला सदस्यमा ६० जना, महिला सदस्य २५ जना, वडा अध्यक्ष १७ जना र सदस्य पदमा ३३ जना गरी एक सय ३८ जना निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै नेपाली कांग्रेसबाट एकजना उपाध्यक्षमा, ४५ दलित महिला सदस्यमा, २१ महिला सदस्यमा, १६ वडाध्यक्षमाा र ३२ सदस्यमा सहित एक सय १५ जना निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै माओवादी केन्द्रबाट तीनजना वडाध्यक्षमा, ४३ जना दलित महिला सदस्यमा, आठजना महिला सदस्यमा र पाँचजना सदस्यमा गरी जम्मा ५९ जना निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) बाट अध्यक्ष पदमा दुईजना, उपाध्यक्ष पदमा एकजना, वडा अध्यक्ष पदमा ६ जना, दलित महिला सदस्यमा सातजना, महिला सदस्यमा सातजना र सदस्यमा १२ जना गरी ३५ जना निर्वाचित भएका छन् ।
स्वतन्त्रबाट भने वडा अध्यक्षमा ६ जना, दलित महिला सदस्यमा चारजना, महिला सदस्यमा नौजना र सदस्यमा १६ जनासहित ३५ जना निर्वाचित भएको आयोगले जनाएको छ ।
साथै नेपाल मजदुर किसान पार्टीबाट दुईजना दलित महिला सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुईजना सदस्य, जनता समाजवादी पार्टीबाट एकजना दलित महिला सदस्य, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट एकजना दलित महिला सदस्य, राष्ट्रिय जनमुक्ति पार्टीबाट एकजना दलित महिला सदस्य र लोकतान्त्रिक समाजवादी पार्टीबाट पनि एकजना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
आयोगले उपलब्ध गराएको तथ्यांकअनुसार अध्यक्षमा जम्मा तीनजना, उपाध्यक्षमा दुईजना, वडा अध्यक्षमा ३१ जना, दलित महिला सदस्यमा एक सय ६४ जना, महिला सदस्यमा ७१ जना र सदस्यमा ६७ जना निर्विरोध निर्वाचित भएको हुन् ।