आचारसंहिता पालना नभएको गुनासो
Monday, May 9th, 2022, 8:20 pm
Kalpristha
निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका क्रममा राजनीतिक दलमाथि विभिन्न आचारसंहिता लागू गरेको छ । तर ती आचारसंहित बोलीमा मात्र सिमित रहेको देखिन्छ । नेपालगन्जका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारी पनि दलहरुले आचारसंहिता मुखले मात्र पालना गरेको बताउँछन् ।
विभिन्न पार्टीबाट उम्मदेवारीमा मनोनयन भएका पदाधिकारी पनि एकअर्कालाई आचारसंहिता पालना नगरेको आरोप लगाउने गरेका छन् ।
नेपालगन्ज बजारमा अझै पनि विभिन्न पार्टीका झण्डा विभिन्न सार्वजनिक स्थानमा टंग्याइएको पाइन्छ भने प्रचारप्रसारमा बालबालिकाको प्रयोग, भारतिय गाडीको प्रयोग, आफूखुसी घरहरुमा पार्टीको झण्डा लगाउने काम भई रहेका छन् ।
निर्वाचन आचारसंहिता पालना गर्ने उम्मेदवारहरुले प्रतिवद्धता नजनाएका पनि होइनन् । सोमबार पनि नेपालगञ्ज उप–महानगरपालिकाका उम्मेदवारहरुले स्थानीय तह निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । तर एकअर्कालाई अक्षेप भने लगाउन छोडेनन् ।
संवाद समूह बाँकेद्वारा सोमबार नेपालगन्जमा स्थानीय तह निर्वाचन २०७९ आचारसंहिता कार्यान्वयनका सन्दर्भमा अन्तरक्रियात्मक संवादको आयोजना गरिएको थियो ।
उक्त संवादमा विभिन्न राजनीतिक दलबाट नेपालगन्ज उप–महानगरपालिकाको नगर प्रमुख र उप–प्रमुखका प्रत्यासीहरुले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आचारसंहिता पालनानै अन्तिम विकल्प भएको स्वीकारे र प्रतिवद्धता पनि गरे ।
जसमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)बाट नेपालगन्ज उप–महानगरपालिकामा मेयरको उम्मेदवारी दिएका नन्दलाल वैश्यले आफू र आफ्नो पार्टीले आयोगले जारी गरेको आचारसंहिता पूर्णरुपमा पालना गरेको र निर्वाचनभरि पालना गर्ने प्रतिवद्धता जनाए ।
उनले आचारसंहिता पालनाको प्रयास भइरहेको भन्दै कहीकतै उल्लघंन भएको पाइए सचेत गराउन पनि निर्वाचन आयोगलाई आग्रह गरे । वैश्यले आचारसंहिताको अनुगमनसँगै शान्ति सुरक्षाको व्यवस्था मिलाउन पनि जोड दिए ।
कार्यक्रममा राप्रपाबाट नेपालगन्ज उप–महानगरपालिकाका उप–मेयर पदकी उम्मेदवार विन्दु चर्तीमगरले आचारसंहिता अरुले पालना गर्न सिकाउनु भन्दा पनि आफूले जानेर गर्नुपर्ने बताइन् ।
राप्रपा नेपालबाट नेपालगन्ज उप–महानगरपालिकाका मेयर पदका उम्मेदवार अभय बस्नेतले आचारसंहिता पालना बोलीमा मात्र सिमित रहेको बताए । उनले कुनै पनि पार्टीको नाम नतोकी बजारमा ब्यानर, झण्डा, स्टीकरको प्रयोग गरेर आचारसंहिता उल्लघंन भइरहेको बताए । बस्नेतले आचारसंहिता पालना नगरेका पार्टी वा उम्मेदवारलाई कानूनी दायरामा ल्याउन कन्जुस्याई भइरहेको दावी गरे । उनले आफू र आफ्नो पार्टीले आचारसंहिता उल्लघंन नगर्ने प्रतिवद्धता दोह¥याएका थिए ।
यस्तै नेकपा एमालेबाट नेपालगन्ज उप–महानगरपालिकाका उप–मेयर पदकी उम्मेदवार शान्ति ढकालले आचारसंहिता उल्लघंन गर्नेले गरिरहेको र पालना नगर्नेले नगरिरहेको बताइन् । उनले आफूहरुले कहीकतै आचारसंहिता उल्लंघन नगरेको बताउँदै यदि त्यस्तो पाइएमा कानूनी कारबाही भोग्न पनि तयार रहेको उद्घोष गरिन् ।
मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले आचारसंहिता स्वयंले लागू गर्नुपर्ने भन्दै तडकभडक प्रचार गरेर जितीन्छ भन्ने मानशिकता त्याग्न उम्मेदवारलाई आह्वान गरेका छन् । आचारसंहिता उल्लंघन गर्नेलाई मतदाताले मतद्वारा पनि दण्डित गर्ने दावी गर्दै उनले प्रमाणसहित उजुरी आएमा कानूनी कारबाही गरिने स्प्रष्ट पारे ।
कार्यक्रमपश्चात कालपृष्ठकर्मीसँग कुरा गर्दै तिवारीले पहिलेको तुलनामा अहिलेको चुनावी प्रचारमा आंचारसहिता बढी पालन भएको बताएका छन् । उनलाई आचारसंहिता विपरित प्रचारप्रसार भएका छन् ? भन्ने प्रश्नमा उनले भने, ‘राजनीतिक पार्टीले जति भने पनि त्यो उहाँहरुको बोलीमा मात्र सिमित हुन्छ । आचारसंहिता विपरित प्रचारप्रसार भई रहेका पनि छन् । त्यसका लागि हामीले उहाँहरुलाई सम्झाउने काम गरेका छौं । हालसम्म आचारसंहिता उल्लंघनका निवेदन आएका छैनन् । आएमा सोही अनुसार कारबाही हुन्छ ।’
मुख्य निर्वाचन अधिकृत, सञ्चारकर्मी र अधिकारकर्मीलगायतकोे सहभागिता रहेको कार्यक्रममा उनीहरुले आचारसंहिताको पालना गर्ने र गराउने दायित्वबाट विमुख नहुने बाचा गर्दै सामुहिक खबरदारी र हातेमालोको आवश्यक्तामा पनि जोड दिए ।
विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट नेपालगन्ज उप–महानगरपालिकाको मेयरका लागि १७ जना र उप–मेयरका लागि लागि ९ जना प्रतिष्पर्धामा रहेका छन् ।