बाँकेमा २ लाख ४६ हजार ७८ मतदाता
Sunday, April 9th, 2017, 8:40 am
amit
संगिन शर्मा
कोहलपुर- आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बाँकेमा २ लाख ४६ हजार ७८ मतदाताले मतदान गर्न पाउने भएका छन । जसमध्ये पुरुष मतदाताको संख्या १ लाख २५ हजार ९ सय ९३ रहेका छ भने १ लाख २० हजार ८४ महिला मतदाता रहेका छन ।
बाँकेमा १ जना तेश्रो लिंगीले समेत मतदानमा सहभागी हुन पाउने निर्वाचन कार्यालयले जनाएको छ । बाँकेमा सबैभन्दा बढी मतदाता नेपालगन्ज उपमहानगरपालिकामा छन् । क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा ६२ हजार ३ सय ९६ र कोहलपुर नगरपालिकामा ३७ हजार ३ सय २३ मतदाता रहेका छन ।
त्यसैगरी नरैनापुर गाउपालिकामा १५ हजार ४३, राप्ती सोनारी गाउँपालीकामा ३३ हजार ७ सय ५४, बैजनाथमा ३२ हजार ४ सय ६२ मतदाता रहेका छन् । बाँकेको खजुरा गाउपालिकामा २९ हजार ४ सय १४, डडुवा गाउँपालिकामा १७ हजार ६ सय ९ मतदाता रहेका छन् । त्यस्तै, जानकी गाउँपालिकामा १८ हजार ७८ मतदाता रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै गरि बर्दियामा १ लाख २४ हजार ९ सय ६२ पुरुष र १ लाख २८ हजार २ सय १८ महिला गरि कुल २ लाख ५३ हजार १ सय ८५ मतदाता रहेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार देशभरमा कुल १ करोड ४० लाख ५४ हजार ४८२ मतदाता रहेका छन् ।