मतदान सकियो, सामान्य नै रह्यो बाँके
Friday, May 13th, 2022, 5:45 pm
Kalpristha
बाँके जिल्लामा सामान्य अवस्थामा मतदान सकिएको छ । जिल्लाका आठवटा पालिकाको १ सय ३६ मतदान स्थलमा रहेका ३ सय ७९ मतदान केन्द्रमा समान्य अवस्थामा मदतान सकिएको हो ।
यद्यपी खजुरा गाउँपालिका–४ ई गाउँमा रहेको मतदान केन्द्र भने शुक्रबार केहीबेर तनावग्रस्त रह्यो । मतदानका समयमा आफ्ना व्यक्तिलाई बढी प्राथमिकता दिएको र अपांग व्यक्तिलाई पनि बेवास्ता गरेको भन्दै विभिन्न पार्टीका उम्मेदवार तथा कार्यक्रताले एकअर्कालाई आरोप लगाएका थिए । सो घटनाले उग्ररुप नलिँदै प्रहरीले केन्द्रलाई समान्य अवस्थामा ल्याएको थियो ।
सो तनावका कारण केही बेर मतदान प्रक्रियामा पनि केही प्रभाव परेको खजुरा गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जनाकारी दिएका छन् । सुनारका अनुसार अवस्था प्रभावित हुन थालेपछि केहीबेर बाहिरबाट मतदान केन्द्रभित्र मतदातालाई भित्रिन बन्द गरिएको थियो । तर मतदानभित्र भएका व्यक्तिहरुले चाही मतदान गरिरहेको सुनारले बताए छन् ।
त्यस्तै नेपालगन्ज उप–महानगरपालिकाका निर्वाचन अधिकृत खडानन्द तिवारीले पनि नेपालगन्जमा सामान्य अवस्थामा मतदान सकिएको बताए । उनले प्रहरी तथा सुरक्षाकर्मीको सकृयताका कारण सुरक्षितरुपमा मतदान सकिएको बताए ।
कोलपुर नगरपालिकाका निर्वाचन अधिकृत तिर्थराज भट्टले पनि निर्वाचन सामान्य अवस्थामा नै सकिएको बताए । उनले बिहीबार माओवादी केन्द्र र नेकपा एमाले निकट व्यक्तिहरुबीच झडप भएता पनि शुक्रबार भने समान्य अवस्थामा नै मतदान सम्पन्न भएको बताए । बिहीबारको घटनाका कारण कोहलपुर नगरमा प्रहरीले कडा सुरक्षा प्रदान गरेको भट्टले बताए ।
त्यसैगरी जानकी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्ती सोनारी गाउँपालिकामा पनि कुनै किसिमको असामान्य घटना नघटेको निर्वाचन अधिकृतहरुले जनाएका छन् ।
बाँकेका ८ वटै स्थानीय तहमा निजामती र संस्थानका कर्मचारी गरी २ हजार २ सय जना जनशक्ति परिचालित भएका छ । भने एउटा मतदान केन्द्रमा कमाण्डरसहित ३ जना नेपाल प्रहरी र ६ देखी ७ जनासम्म म्यादी प्रहरी खटाइएको छ ।
जिल्लाभर शान्ति, सुरक्षा कायम गर्न १७ वटा नेपाल प्रहरीको मोबाइल टोली पनि परिचालन गरिएको थियो । साथै नेपाल भारत सीमा नाका पनि कडाई गरिएको छ । सीमा क्षेत्रलाई सशस्त्र प्रहरीले विशेष निगरानीमा राखेको जिल्ला प्रहरीले जनाएको छ ।
जिल्लामा कूल ३ लाख २९ हजार ४ सय ७३ जना मतदाता छन् । यी मध्ये एक लाख ६७ हजार ३ सय ४९ पुरुष, एक लाख ६२ हजार १ सय १७ महिला र ७ जना अन्य मतदाता रहेका छन् ।