खजुराको १ मा एमाले, २ मा गठबन्धनको अग्रता
Saturday, May 14th, 2022, 11:42 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, ३१ वैशाख
बाँकेका ८ स्थानीय तह मध्ये वडा स्तरमा गठबन्धन भएको गाउँपालिका खजुराको सुरुवाती मतगणनामा गठबन्धन(कांग्रेस–माओवादी) र एमालेबीच प्रतिस्र्धा देखिएको छ ।
गठबन्धनबाट डम्बर विक तुफान र एमालेबाट सुमन मल्ल गाउँपालिका अध्यक्षमा प्रतिस्पर्धा गरेका छन् । खजुरा एमालेको प्रभाव बलियो भएको पालिका हो । तर यसपटक गठबन्धन कारण सहज देखिएको छैन एमालेलाई । खजुराको ८ वडा मध्ये १ र २ एमालेको धेरै पकड भएको वडा हो ।
अन्य वडामा भने गठबन्धनबाट अध्यक्षमा प्रतिस्पर्धा गरेका तुफान बलियो देखिन्छन् ।
शनिबार राती ११ बजेसम्मको अपडेट अनुसार खजुराको १ नम्बर वडामा एमालेले अग्रता लिएको छ भने २ नम्बर वडामा गठबन्धन अगाडि देखिएको छ । एमालेका उम्मेदवार सुमन १ नम्बरवासी हुन् । मल्ललाई जित हासिल गर्नको लागि १ र २ नम्बर वडाबाट फराकिलो अग्रता आवश्यक पर्छ ।
तर उनले २ नम्बर वडामा भने अपेक्षा गरेको भन्दा कम मत ल्याएका छन । २ नम्बर वडाको २३३० मत गन्दा तुफानले ११४० र सुमनले १०६६ मत पाएका छन । उपाध्यक्ष तर्फ गठबन्धनकी मन्जु मल्लले ११०७ र ताजरुन निशाले ९८४ मत पाएकी छिन ।
वडा अध्यक्षमा भने गठबन्धनका धनराम ओली अगाडी देखिएका छन । उनले ११७९ र एमालेका समर बहादुर खत्रीले १०२० मत पाएका छन । शनिबार अबेर रातीसम्म खजुराको १ र २ मतगणना सकिने अनुमान गरिएको छ ।