म्यादी प्रहरीले जुराईदिएको खुसी
Sunday, May 15th, 2022, 9:14 am
Kalpristha
कमल खत्री
खजुरा, ३१ वैशाख
बाँके खजुराको कपास विकास प्राय सुनसान हुन्छ । धेरै चहलपहल हुँदैन यो कार्यालयमा, विगत जस्तो । तर अहिले यहाँ मानिसको आवत जावतह्वात्तैं बढेको छनिर्वाचनको मतगणनाले। मतगणना स्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती छ । कडा निगरानीमा छ खजुराको मतगणना स्थल ।
मतगणना स्थलमा सुरक्षा दिइरहेका म्यादी प्रहरी पनि निकै जोसिला देखिन्छ । प्राय सबै युवाहरु छन् म्यादीको जर्सीमा । म्यादीहरुको त्यही भिडमा एउटा अनुभवी पुरुष देखिन्छन् ।
हेर्दा उनी म्यादी होइनन् कि जस्तो पनि लाग्छ । तर उनको पोशाक हेरेपछि हुन भन्ने बुझिन्छ । उनी हुन पदम सुनार । पुर्व प्रहरी सहायक निरिक्षक ।
बाँके बैजनाथ ५ निवास पदमले नेपाल प्रहरीमा २६ वर्ष सेवा गरे । उनी अवकास प्राप्त व्यक्ति हुन ।
भर्खरका युवा म्यादीसँग मज्जाले रमाउँदै उनी कपास विकासमा आफनो जिम्मेवारी पुरा गरिरहेका छन ।
घरमा त्यसै बस्न भन्दा निर्वाचनमा डिउटी गर्न मन लागेर म्यादीमा भर्ना भएको बताउँछन पदम । उनी भन्छन,‘मलाई धेरै किन म्यादीमा जान्छस भनेर सोधेका पनि थिए धेरैले । घरमा बस्नु भन्दा केहि समय काम गर्छु भनेर आएको हुँ ।’
पदम म्यादी प्रहरीको जिम्मेवारी निर्वाह गर्न पाएकोमा निकै खुसी छन् ।
म्यादी भएर ४० दिन सम्म उनले काम गर्ने दिन सकिदैंछ । यो अवधिमा उनले निकै खुसीका क्षण पनि बटुलेर घर फर्कदैं । नयाँ साथीहरु बनाएका छन उनले धेरै । चिनजान भएकोमा पनि उनी खुसी छन, तर त्यो भन्दा अझ बढी खुसी भए उनी जब आफना पुराना साथीहरुसँग भेटे ।
उनलाई नेपाल पुलिसमा हुँदाका साथीहरुसँग भेट्ने अवसर जुराईदियो म्यादीले । २८ वर्ष पछि आफुले सँगै डोल्पामा कार्यरत हुँदाका साथीहरु पनि भेटिएको पदमले बताए ।
बाँकेमा निर्वाचनको सुरक्षाको निम्ती झन्डै १ हजार ६ सय म्यादी प्रहरीलाई भर्ना गरिएको थियो । त्यसमा पदम जस्तै थुप्रै सेना, प्रहरी र सशस्त्रबाट अवकास पाए व्यक्तिहरु भर्ना भएका थिए ।
त्यस्तैमा पर्छन बैजनाथ गाउँपालिका एच गाउँका पदम । आफुले गर्न सक्ने र सिकेको कुरा गर्नमा कहिले पनि लाज मान्न नहुँने धारणा राख्छन पदम ।
उनले भने,‘मलाई मेरो परिवार र छोराछोरीले पनि म्यादीमा भर्ना हुन जान्छु भन्दा मानेका थिएनन् । म पुलिसको मान्छे । मैले निर्वाचनको सुरक्षामा काम गर्न सक्छु । अरु नयाँ भाइबहिनीलाई धेरै कुरा सिकाए । आफुले पनि सिके । म्यादी बनेर काम गर्न लाज मान्न पर्दैन । यो एउटा राज्यको सेवा गर्ने अवसर पनि हो ।’