२५ वर्षपछि बुटवलमा कांग्रेसको जित
Saturday, May 21st, 2022, 7:36 pm
Kalpristha
बुटवल उप–महानगरपालिकामा नेपाली कांग्रेसले २५ वर्षपछि आफ्नो झण्डा गाडेको छ । कांग्रेसले २ दशक अघि गुमेको आफ्नो शाख फर्काउन सफल भएको हो ।
बुटवल कांग्रेसका प्रमुख उम्मेदवार खेलराज पाण्डेले फराकिलो मतान्तरका साथ एमालेलाई हराएका हुन् । उनले ७ हजार ५ सय ३३ मतान्तरले निकटतम प्रतिद्वन्द्वी एमालेका बाबुराम भट्टराईलाई पछाडि पार्दै निर्वाचित भएका हुन् ।
कांग्रेसका पाण्डेले ३० हजार १ सय ३० मत पाउँदा एमालेका भट्टराइले २२ हजार ५ सय ९७ मत ल्याएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २ हजार ३ सय मत अन्तरले पराजित भएका पाण्डेले यसपटक अघिल्लोभन्दा तेब्बरभन्दा बढी मत अन्तरले जितेका हुन् ।
.
तर उपमेयरमा भने नेकपा एमालेकी सावित्रा अर्याल फराकिलो मतान्तरसहित विजयी भएकी छिन् । उनले गठबन्धन तर्फबाट उपप्रमुख नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङलाई हराएकी हुन् ।
अर्यालले २४ हजार ९ सय ४ मत ल्याउँदा गुरुङले १६ हजार ९ सय ८० मत ल्याए । अर्यालले गुरुङलाई ७ हजार ९ सय २४ मतले पराजित गरेकी हुन् ।
पाण्डेसँगै बुटवलमा कांग्रेसले बहुमत वडामा जित हासिल गरेको छ भने एमाले खुम्चिएको छ । बुटवलका १९ मध्ये नेपाली कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ । एमालेले वडा १०, ११, १४, १८ र १९ वडा जितेको छ ।
नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर रहेको बुटवललाई एमालेको बलियो संगठन भएको क्षेत्रको रूपमा लिइन्थ्यो। २०५४ साल यताका हरेक निर्वाचनमा जित हासिल गर्दै आएको एमालेको विरासतलाई ढलाएका पाण्डेको जितले बुटवलमा एमालेको शक्तिलाई आकलन गरिएभन्दा बढी कमजोर बनाएको विश्लेषण भइरहेको छ । बुटवलबाटै लगातार तीन संसदिय निर्वाचन जितेका बिष्णु पौडेलको वडाबाट पनि यसपटक एमाले बाहिरिएको छ ।