खुद्रे आयोजना स्थानीय तहलाई दिने तयारी
Saturday, May 21st, 2022, 7:59 pm
Kalpristha
सरकारले खुद्रे आयोजना स्थानीय तहलाई दिने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०७९÷८० मा अधिकांश साना आयोजनालाई प्रदेश र स्थानीय तहमा पठाउने तयारी गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकताको छलफलका क्रममा उठेको प्रश्नको शुक्रबार जवाफ दिँदै कम लगानीका आयोजनाको कार्यान्वयन प्रदेश र स्थानीय तहलाई दिने बताएका छन् । साना कार्यक्रम संघीय सरकारले बोक्दा एकातर्फ आयोजना कार्यान्वयन प्रभावकारी नहुने र अर्कोतर्फ बजेट खर्चमा समेत असर पार्ने भन्दै मन्त्री शर्माले साना आयोजनाको माग नगर्न सांसदहरुसँग आग्रह समेत गरे ।
खासगरी अघिल्लो सरकारले अगाडि बढाएका १४ सय सडक आयोजना अर्थ मन्त्रालयले काटेको भन्दै एमाले सांसदहरुले प्रतिनिधिसभाको बैठकमा प्रश्न उठाएका थिए । त्यसको जवाफमा अर्थमन्त्री शर्माले ५० किलोमिटर सडकको लागि ४२ लाख रुपैयाँ विनियोजन गरेकाले हटाउनु परेको बताए ।
बजेट र आयोजनाका बीचमा तालमेल नै नभई कार्यान्वयनमा जाँदा त्यो आयोजना प्रभावकारी नहुने भएकाले त्यस्ता आयोजना प्रदेश र स्थानीय तहमा पठाउँदा उपयुक्त हुने अर्थमन्त्री शर्माले बताए ।