५२ कैदीको सजाय मिनाहा
Sunday, May 29th, 2022, 4:51 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, १५ जेठ
गणतन्त्र दिवसको अवसरमा बाँकेमा २१ र दाङमा ३१ गरी ५२ कैदीबन्दीको सजाय मिनाहा गरिएको छ । नेपाल सरकारले गरेको कैदीबन्दीको सजाय मिनाहा फैसलामा बाँके जिल्लाको नेपालगन्ज कारागारका, दाङमा रहेको घोराही र तुलसीपुर कारागारका कैदीबन्दीको सजाय पनि मिनाहा भएको हो ।
नेपालगन्ज कारागारका जेलर रामकुमार सोनकरका अनुसार, सजाय मिनाहाका लागि २५ जना कैदीबन्दीको नाम पठाइएकोमा २१ जनाको कैद सजाय मिनाहा भएको छ । उनीहरुलाई आइतबार कानुनी प्रक्रिया पूरा गरी रिहा गरिएको छ ।
बाँकेमा कैदी सजाय मिनाहा हुनेमा सबै पुरुष रहेको छन् । जसमा १४ जना कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेको कैदी रहेको छन् । त्यस्तै डाँका, चोरी मुद्दाका ४ जना, सवारी ज्यान मुद्दा १ जना, मुद्दा गौवध १ जना र १ जना मुद्दा चोकीका कैदीको सजाय मिनाहा भएको हो ।
.
त्यस्तै घोराही कारागारबाट ९ र तुलसीपुर कारागाराबाट २२ जना कैदीको सजाय मिनाह भएको हो । घोराहीमा ४० प्रतिशत कैद भुक्तान गरेका ३ जना र ५० प्रतिशत भुक्तान गरेका ६ जना रहेका छन् । उनीहरु मध्य कर्तव्य ज्यानका ५ जना, डाका चोरीका १ जना, सवारी ज्यानका १ जना, हातहतियार तथा खरखजनाका २ जना रहेका छन् ।
घोराहीमा कैद मिनाह हुने सबै पुरुष रहेका छन् । घोराही कारागारमा अहिले ३ सय ९ जना कैदी रहेको जेलर बासुदेव खनालले जानकारी दिएका छन् । कैद मिनाहा भएका कैदीबन्दीहरुलाई उनीहरुको आफन्तीको रोहबरमा आइतबार रिहा गरिएको खनालले बताए ।
तुलसीपुरमा ५० प्रतिशत कैद भुक्तान गरेका १४ जना र ४० प्रतिशत कैद भुक्ता गरेका ८ जना रहेका रहेका छन् । ५० प्रतिशत कैद भुक्तान गरेर बाँकी कैद मिनाह हुनेमा १ महिला र १३ जना पुरुष रहेका छन् ।
विषब्वाय कतव्र्य ज्यानका एक महिला, कतव्र्य ज्यानका ३ पुरुष, गौ बधका ३ जना पुरुष, सवारी ज्यानका ३ पुरुष, ज्यान मार्ने उद्योगका २ जना पुरुष, नकपजनी चोरी र डाँका चोरीका १/१ जना पुरुष रहेको कारागार कार्यालय तुलसीपुरका जेलर अमर वलीले जानकारी दिएका छन् ।
त्यस्तै ४० प्रतिशत कैद भुक्तान गरेकामध्ये डाका चोरी र ज्यान मार्ने उद्योगका २/२ जना र कर्तव्य ज्यानका ४ जना रहेका छन् । तुलसीपुर कारागारमा अहिले दुई जना आश्रित बालबालिका र ४० महिलासहित ५ सय ५० जना कैदीबन्दी रहेका छन् ।
विभिन्न दिवसको अवसरमा सरकारले आचरण सुध्रिएका, आधा भन्दा बढी सजाय कटिसकेका कैदीबन्दीको सजाय मिनाहा गर्ने गरिँदै आई रहेको छ ।