भोलीदेखि नालाको सरसफाइ सुरु गरिने
Sunday, May 29th, 2022, 4:52 pm
Kalpristha
नेपालगन्ज उप-महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सोमबारबाट नेपालगन्जका ढलनालाको सरसफाइ सुरु गरिने बताएका छन् । उनले सडकमा रहेका ढलनालाहरुमा फोहर थुप्रियर ढल निकास हुन नसकेकाले नाला सफाइ गरिने बताएका हुन् ।
१५औं गणतन्त्र दिवसको अवसरमा नेपालगन्जमा रहेको बागेश्वरी मन्दिरमा सरसफाइ गर्ने क्रममा कालपृष्ठकर्मीसँग कुरा गर्दै विष्टले नेपालगन्ज सहरको सुन्दरतालाई बढवा दिन सरसफाइ जरुरी रहेको बताएका हुन् ।
‘सरसफाइ चुनौतीका रुपमा देखिएको छ । हामीले नाला त बनायौ तर त्यसको सरसफाइ गरेका छैनौं । सहरको सुन्दरतालाई बढाउन सरसफाइ गर्न जरुरी रहेको छ,’ विष्टले भने ।
प्रमुख विष्टको अगुवाईमा आइतबार बागेश्वरी मन्दिरको सरसफाई गरिएको हो । नेपालगन्ज उप-महानगरपालिकाको सहकार्यमा द होप नामक संस्थाको आयोजनामा बागेश्वरी मन्दिर क्षेत्र सरसफाइ गरिएको छ ।
नेपालगन्जमा सरसफाइको समस्या भएकाले गणतन्त्रको अवसारमा बागेश्वरी मन्दिरको सरसफाइ गरिएको विष्टले बताएका छन् । ‘कम्तीमा बागेश्वरी मन्दिरको सरसफाइ गरेर यो अभियान सुरु गरिएको छ । अब वृहतरुपमा नेपालगन्जमा सरसरफाइ अभियन सुरु गरिने छ,’ उनले भने ।
आयोजक संस्थाका इन्जिनियर चन्दन राज दासको अध्यक्षतामा सम्पन्न सरसफाइ कार्यक्रममा उपप्रमुख कमरुद्दीन राई, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, वडा नम्बर २१ का वडा अध्यक्ष राजकुमार साहु सहित विभिन्न वडाका जनप्रतिनिधिहरु लगायतका सहभागीहरुले झाडु लिएर बागेश्वरी मन्दिर प्रांगणको सरसफाइ गरेका थिए ।
सरसफाई कार्यक्रममा आयोजक संस्था द होपका लक्ष्मी गौडेल, पूजा बस्नेत, सुरेन्द्र बोहरा लगायत सदस्यहरु, विभिन्न क्षेत्रका अगुवा, समाजसेवी, युवा, विद्यार्थी लगायत सयौंको सहभागिता रहेको थियो ।